Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीप कलेजका विद्यार्थीलाई काठमाडौंमा ५० लाखको छात्रवृत्ति घोषणा

उद्घोष सम्वाददाता
९ चैत २०८०, शुक्रवार

विराटनगर । विराटनगरको शैक्षिक अग्रणी संस्था शिक्षादीप कलेजले काठमाडौंमा गएर पढ्न चाहने विद्यार्थीहरूका लागि ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ ।

शिक्षादीप कलेजबाट कक्षा १२ पास गरेर काठमाडौंको टेक्सपायर कलेजमा ब्याचलर लेभलको अध्ययनका लागि जाने विद्यार्थीहरूले उक्त रकमबाट छात्रवृत्ति पाउने जनाइएको छ ।

शुक्रबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्का र टेक्सपायर कलेजका सञ्चालक एवं कोड हिमालयका प्रमुख कार्यकारी अधिकृत स्मरण दवाडीले संयुक्त रुपमा छात्रवृत्ति घोषणा गरेका हुन् ।

शिक्षादीपले कक्षा १२ पास गरेका १६ औं ब्याचका विज्ञान र व्यवस्थापनतर्फका एक हजार ५० जना विद्यार्थीहरूको शुक्रबार बिदाई गरेको छ । सोही अवसरमा दुई कलेजबीच भएको सम्झौता अनुसार छात्रवृत्ति घोषणा गरिएको जनाइएको छ । 

कार्यक्रममा बोल्दै शिक्षादीपका प्रिन्सिपल खड्काले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै जीवनको वास्तविक परीक्षा शुरु भएको बताए ।

उनले आगामी दिनमा पनि शिक्षादीपमा अध्ययन गरेजस्तै मेहेनत गर्न आग्रह गरे । खड्काले शिक्षादीप कलेज कोशी प्रदेशमा कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेज भएको दाबी गरे । साथै हरेक वर्ष नतिजा पनि उत्कृष्ट आउने गरेको बताए । 

शिक्षादीपले विराटनगरमा रहेर विद्यार्थीहरूको उज्जल भविष्यका लागि लागिपरेको जनाएको छ । कलेजका एसोसिएट प्रोफेसर ललित नारायण मण्डलले कक्षा १२ पास गरेर गएका सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । उनले भविष्यमा जुन विषयको अध्ययन गरेपनि सफल हुने गरी पढ्नका लागि आग्रह गरे । 

त्यसैगरी टेक्सपायर कलेजका सञ्चालक एवं कोड हिमालयका सिइओ दवाडीले नेपालमै पनि सफ्टवेयर टेक्नोलोजीको ठुलो बजार र सम्भावना रहेको बताए । सूचना प्रविधि क्षेत्रका लागि टेक्सपायर कलेजले हरेक वर्ष १ करोड रुपैयाँ छात्रवृत्तिका लागि बाँड्दै आएको जानकारी दिए । त्यसको मूल उद्देश्य आफ्नै कम्पनीका लागि दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए । 

शिक्षादीप कलेजबाट प्लस टु सकेर ब्याचलरमा इन्फरमेसन टेक्नोलोजी, साइन्स र व्यवस्थापन जुनसुकै सङ्कायमा पनि पढ्नका लागि जाने विद्यार्थीहरूले ५० लाख रुपैयाँबाट छात्रवृत्ति पाउने बताए । 

सोही अवसरमा शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम हुने एन्जल राई, द्वितीय रितेश भट्टराई र तृतीय स्मृति मल्लिकलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयबाट बिदाई भएका विद्यार्थीहरूलाई शिक्षादीप कलेजका अध्यक्ष एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले शुभकामना दिएका थिए । पराजुलीले कलेजले प्रदान गरेको छात्रवृत्ति रकम आठ जना विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए । बिदाई कार्यक्रममा विद्यार्थीहरूले गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

View : 859

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved