Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलनको एक महिनापछि जिल्ला प्रशासनको सवै सेवा सुचारु (फोटो)

उद्‌घोष संवाददाता
३० असोज २०८२, बिहिवार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आफ्नो नियमित सबै सेवा बुधबारदेखि पूर्ववत अवस्थामा सुचारु गरेको छ । 

जेनजी आन्दोलन समूहको नाममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण मोरङ प्रशासन कार्यालय पूर्णरुपमा ध्वस्त बनेको थियो । जेनजी आन्दोलनबाट कार्यालय पूर्णरुपमा क्षति भएको एक महिनामा सम्पूर्ण सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

तोडफोड र आगजनीका कारण कार्यालयको धेरै कागजात र कम्प्युटर लगायतका उपकरणसमेत नष्ट भएका थिए ।

एक महिनादेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन कार्य सुरु गर्दै सम्पूर्ण सेवा प्रवाह सुचारु भएको घोषणा गरिएको हो । 

राष्ट्रिय परिचयपत्र बनाउन फोटो खिच्ने लगायतका विवरण संकलन कार्य गर्न आवश्यक भवन निर्माण व्यवसायी संघ मोरङले निर्माण गरिदिएको हो । 

उक्त भवनको उद्घाटन गर्दै प्रजिअ यादवले परिचयपत्रको काम सुरु भएको जानकारी दिए । 

राष्ट्रिय परिचयपत्र निर्माणको कामसँगै जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा सुचारु भएको जनाइएको छ ।

‘न्यूनतम दरमा सामग्री जुटाएर भवन निर्माण गरिदिनु भएको छ, निरन्तर रुपमा काम गरिदिएका कारण एक महिनाभित्र सबै सेवा सुचारु गर्न सम्भव भएको छ’ प्रजिअ यादवले भने, ‘अब हामीलाई कार्यालयमा हुने सेवाग्राहीको भिड व्यवस्थापनको चुनौति छ, सेवाग्राहीलाई बस्ने ठाउँ नभएका कारण २० वटा जति ब्रेञ्च व्यवस्थापन गरिहाल्नुपर्ने छ, यसका लागि सहयोगीहरूसँग आग्रह पनि गर्दछु ।’

प्रजिअ यादवले कार्यालय सञ्चालनका लागि सहयोग गर्ने सबै निकाय, संघसंस्था र व्यक्तिहरूको योगदानलाई कदर गर्दै विवरण सार्वजनिक गरिने र पत्रमार्फत धन्यवाद ज्ञापन गरिने जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम बुधबारदेखि प्रत्येक दिन बिहान ७ बजेबाट साँझ ७ बजेसम्म हुने जनाइएको छ । 

यसअघि विवरण संकलन भइसकेकाहरूको कार्डको हकमा भने क्षति हुनबाट जोगिएका कार्ड संकलन र मिलाउने कार्य भइरहेको सहायक प्रजिअ सरोज कोइरालाले बताए । क्षति हुनबाट जोगिएका कार्डको वितरण सूचना निकालेर जानकारी गराएपछि हुने उनले बताए ।

निर्माण व्यवसायी संघले प्रशासन कार्यालय परिसरभित्र करीव २० लाख रुपैयाँ बराबरको नयाँ भवन संरचना र पुरानो संरचनाको मर्मत गरेको जनाएको छ । 

संघका अध्यक्ष महेशकुमार मिश्रले जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा ठूलो क्षति भएको र सेवा प्रवाह गर्ने कोठाहरू तत्काल प्रयोग गर्न नसकिने अवस्थामा रहेकोले नयाँ भवन  निर्माण गरिएको बताए ।

कार्यालयभित्र अहिलेसम्म संघको सहयोगमा निर्माणको काम भइरहेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले मंगलबारबाटै राहदानी बनाउने काम भने सुरु गरिसकेको जनाइएको छ ।

राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेका तीनवटा ‘इन्रोलमेन्ट सेन्टर’ जेनजी आन्दोलनका क्रममा आगजनी भएर पूर्णरुपमा नष्ट भएपछि केही दिन अघिमात्रै राहदानी विभागबाट प्राप्त भएको एउटा ‘इन्रोलमेन्ट सेन्टर’ बाट काम गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए ।

भवन उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहन अधिकारी, सल्लाहकारहरू मुकेश उपाध्याय, दीपक पौडेल, ऋषिराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला लगायतको उपस्थिति रहेको थियो ।

View : 340

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved