Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सरकारी मिडियालाई मात्रै विज्ञापन दिने निर्णय सच्याउन माग

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

बिर्तामोड । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन÷प्रशारण गर्ने सरकारको निर्णय तत्काल सच्याउन पत्रकारहरूले सञ्चारमन्त्री र कोशी प्रदेश सरकारसँग माग गरेका छन् ।

पत्रकार महासंघ झापा शाखाले बिहीबार संघीय सरकारका सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्री सम्बोधन गरिएको ज्ञापन पत्र झापाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेका पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएको हो । महासंघ अध्यक्ष एकराज गिरीसहित महासंघका पूर्व अध्यक्षहरू चिन्तामणि दाहाल, मोहन काजी र गणेश पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव स्तरीय निर्णय भन्दै सोही मितिमा सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई सरकारी सञ्चार माध्यममा मात्रै सरकारी विज्ञापन प्रकाशन प्रशारण गर्न परिपत्र गरिएको थियो ।

त्यसप्रति महासंघले विरोध जनाउँदै देशभरका सञ्चारकर्मीहरूले निर्णय सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा पत्रकार सम्बद्ध संघ–संगठन, सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालक लगायत सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । 

यसैबीच, नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा बिहीबार नै भद्रपुर प्रेस क्लवको सभाहलमा आयोजित छलफलमा सञ्चारकर्मीहरूले विज्ञापन रोक्ने सरकारी नीतिप्रति विरोध जनाएका थिए ।

सञ्चारकर्मीहरूले संकटमा परेका मिडियालाई संरक्षण गर्न सरकारले मिडियामैत्री काम गर्नुपर्नेमा उल्टो बाटो समाएको भन्दै सरकारको आलोचना गरे ।

View : 238

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved