Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

साइकलयात्रीको दुर्घटना प्रकरण : विभिन्न माग राखेर दाहसंस्कार

उद्‌घोष सम्वाददाता
२० असोज २०८१, आइतवार

विराटनगर । स्थानीयको बिभिन्न माग पूरा गर्ने सरकारी आश्वासनपछि मालबाहक ट्रकको ठक्करले मृत्यु भएका विराटनगर–१८ का साइकल यात्रीको शनिबार दाहसंस्कार गरिएको छ ।

विराटनगरबाट  एकीकृत जाच चौकी (आईसीपी) जाने सडकमा बिहीबार अपरान्ह ट्रकको ठक्करले स्थानीय ६० वर्षीय श्याम साहको मृत्यु भएफछि स्थानीयले आन्दोलन गरेका थिए । शुक्रबार आन्दोलनका त्रममा भन्सार कार्यालयमा तोडफोड गर्दा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराइएपछि आन्दोलन केही मत्थर भएको छ ।

ट्रक व्यवसायी संघ र आन्दोलनरतपक्ष बीच शनिबार भएको छलफलपछि किरिया खर्च उपलब्ध गराइएको छ । इलाका प्रहरी कार्यालय रानीका निरीक्षक प्रकाश थापाका अनुसार कानुनी रुपमा क्षतिपूर्ति दिलाउन पहल गर्ने सहमति भएको छ । त्यसपछि सडकमा जारी आन्दोलनबाट स्थानीय हटेका थिए ।

पोष्टमार्टमपछि कोशी अस्पतालबाट शव लगेर दाहसंस्कार गरुञ्जेल रानीदेखि आईसीपीसम्मको सडक स्थानीयले अवरोध गरेका थिए । स्थानीयले मृतक साहको परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने र सडक सुरक्षाका विषयमा अन्य मागहरू कायम राखेका छन् ।

ती मागबारे आइतबार प्रमुख जिल्ला अधिकारी र भन्सार प्रमुखसँग छलफल हुने वडा अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए । आईसीपी सडकको एक किलोमिटरको क्षेत्रमा गएको दुई वर्षमा दुर्घटनाका कारण ६ जनाको ज्यान गइसकेको उनको भनाइ छ ।

साहका अनुसार सडक सुरक्षाका विषयमा ट्राफिक लाइट जडान हुनुपर्ने, ठाउँठाउँमा ट्राफिक प्रहरी राख्नुपर्ने, दुई लेनको सडकलाई चार लेन बनाउनुपर्ने स्थानीयका माग छन् । सडकमा गरिने पार्किङका कारण पनि बढी दुर्घटना भएको साहले बताए ।

View : 155

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved