विराटनगर । व्यवस्थापन संकायको मात्रै पढाई हुने विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमबीच अभिमुखीकरण गरिएको छ । कलेजमा २३औं ब्याचका लागि यो वर्ष भर्ना भएका सात सय विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रमका मुख्य अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले मेरिल्याण्ड कलेजले २० औं वर्षदेखि गुणस्तरीय शिक्षाका लागि मेहनत गरिरहेको बताए । उनले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा उत्कृष्ट समूहमा बसेर काम गरेका कारण विद्यार्थीहरुले रोजेर भर्ना हुने गरेको बताए । उनले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई दुई वर्षसम्म मेहनत गरेर पढ्न आग्रह गरे ।
कलेजका प्रिन्सिपल लक्ष्मणप्रसाद ढकालले कलेजले हरेक वर्ष फरक तरिकाले विद्यार्थीहरुको भर्ना गर्ने गरेको बताए । उनले विद्यार्थीहरुलाई सही बाटो देखाउन कलेजले कुनैपनि कसर बाँकी नछाड्ने बताए । जसका कारण मेरिल्याण्ड कलेज सँधै टप १० मा पर्ने गरेको दाबी गरे ।
प्रिन्सिपल ढकालले मेरिल्याण्डमा प्लस टु गरेका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरेर विश्वका विभिन्न देशमा राम्रो काम समेत पाइरहेको बताए ।
कार्यक्रममा कलेजका निर्देशक नन्दकिशोर अग्रवाल र प्रदीपकुमार भगत, फाउण्डर डाइरेक्टर भेषराज पोखरेल, कलेजका उपाध्यक्ष एवं अर्थशास्त्री पीके झालगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा कक्षा ११ को इन्ट्रान्स परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छात्राहरु सरु खड्का र सुस्मिता खत्रीलाई सम्मानित गरिएको छ ।
मेरिल्याण्ड कलेज २०५९ सालमा स्थापना भएपछि व्यवस्थापन शिक्षामा विराटनगरकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास हुँदै गएको जनाइएको छ ।
View : 163
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved