मतदान स्थलमा लाममा बसेका मतदाता । तस्वीर: कमल/उद्घोष
विराटनगर । समुदाय स्तरबाट सञ्चालित मानगढ खानेपानी आयोजना विराटनगरको सञ्चालक समितिको निर्वाचनमा विवाद भएको छ । छ हजार बढी मतदाता रहेको आयोजनाको निर्वाचनमा शनिबार रातिसम्म विवाद जारी थियो ।
शनिबार बिहान ८ बजेदेखि मतदान गर्नुपर्नेमा १० बजेपछिबाट मतदान सुरु गरिनु र सुरु लगत्तै मतदाताको नामावली नभेटिएको भन्दै फर्काइएकाले बेलुका विवाद भएको हो । मतदानस्थल विराटनगर–३ स्थित मोडर्न एरा बोर्डिङ स्कुलमा मतदातालाई बिहान भोट हाल्न नपाएकाले बेलुका दिनुपर्ने माग गर्दै विवाद भएको थियो ।
अपरान्ह ५ बजेसम्म मतदान गरिसक्ने निर्वाचन समितिले योजना बनाए पनि उपभोक्ताको अध्यधिक चाप बेलुका ८ बजेपछिसम्म थियो । विद्यालय परिसरभित्र पसेका मतदातालाई प्रहरी लगाएर बाहिर निकालिएपछि बिवाद बढेको स्थानीयको भनाइ छ ।
उनीहरुले वर्तमान कार्यसमितिकै योजनामा फर्जी मतदान भएको दाबी गर्दै निर्वाचन समितिका सदस्यहरुलाई समेत हातपात गरेको जनाइएको छ । विवाद र होहल्लाका कारण मतदान हुन नसकेपछि खसेको मतको मतपेटिका सिल गरेर प्रहरीको जिम्मा लगाइएको थियो । त्यतिन्जेलसम्म २ हजार ५ सय बढि मत खसेको जनाइएको छ ।
मतदान निरन्तर हुन नसकेपछि मतदान गर्न बाँकी उपभोक्ताहरुका लागि आज आइतबार विहान ८ बजेदेखि अपरान्ह १ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।
विवादका क्रममा अनावश्यक मानिस मतदान केन्द्रभित्र प्रवेश गरेकाले उनीहरुलाई निकालिएको बताउंँदै सम्भावित क्षति हुन नदिन सुरक्षाकर्मी बढाइएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
शनिबार दिउँसोको अत्यधिक गर्मीमा लाममा बस्न नसकेका मतदाता अपरान्ह आएकाले भित्र प्रवेशमा रोक लगाइएपछि समस्या बढेको स्थानीय राजनीतिक कार्यकर्ता नवराज काफ्लेको भनाइ छ ।
सदस्य पदका उम्मेदवार राजकुमार राजवंशीका अनुसार मतदाताको कार्ड नम्बर नमिलेकाले बिहान ३० देखि ४० को संख्यामा उपभोक्तालाई निर्वाचन समितिले बाहिर निकालेको थियो ।
उनीहरु मतदान नगरी घर गएका थिए । सदस्य पदका अर्का उम्मेदवार राजु पौडेलका प्रतिनिधिले सदस्यता नम्बर नमिलेर एकै पटक ३१ जनालाई मतदान लामबाट निकालिएको बताए ।
मतदान सुरु भएलगत्तै मतदातालाई बाहिर निकालिएपछि भएको विवाद तत्काल मिलाइएको थियो । निर्वाचन अधिकृत तथा अधिवक्ता अनिल खड्काका अनुसार मतदाताको पुरानो नामावली राखिएकाले नयाँको नाम फेला परेको थिएन । पछि निर्वाचन समितिले प्रमाणित गरेको नामावली राखेर मतदान गराइएको उनको भनाइ छ ।
निर्वाचन हुनु केही दिनअघि पनि आयोजनाको कार्यालयमै मतदान गर्ने उपकरणका विषयमा चर्को बिवाद भएको थियो । भोटिङ मेसिन झिकाइएकाले मतदाता र उमेदवारका प्रतिनिधिले त्यसको बिरोध गरेपछि परम्परागत तरिकाले नै मतदान गर्ने सहमति गरिएको थियो ।
नौ सदस्यीय समितिका लागि तीन वटा प्यानल र केही स्वतन्त्र उम्मेदवारका लागि मतदान भएको हो । तीन प्यानलमा दुईलाई नेकपा एमाले समर्थकले नेतृत्व गरेका छन् भनें एकलाई नेपाली कांग्रेस निकटले नेतृत्व गरेका छन् । एमाले समर्थक रामबहादुर घिमिरे र लालमणि भट्टराईका दुई प्यानल तथा नेपाली कांग्रेस समर्थक दुर्गा चापागाईको प्यानल उमेदवार छन् ।
View : 329
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved