विराटनगर । गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने निकाय ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) बाट जारी गर्ने आईएसआई सर्टिफिकेटको अवधि सकिएको प्रमुख कारण देखाएर भारतले नेपाली प्लाइउडको निर्यातमा अवरोध कायमै राखेको छ ।
आइएसआइको कारण देखाउँदै भारतीय भन्सार पक्षले नेपालबाट निकासी भएको प्लाइउड बोकेका ट्रक दुई सातायता सीमामा रोकिदिएको छ । यस्तो अवरोधले नेपालको प्रमुख निर्यातमुलक वस्तु प्लाइउड उद्योगहरू फेरि मर्कामा परेका छन् ।
नेपालमा करिब ९० वटा प्लाइउड उद्योग छन् । जसमध्ये आइएसआइ प्रमाणपत्र ९ वटा उद्योगलाई मात्रै जारी गरिएको छ, जुन एक वर्षको अवधिका लागि मात्रै रहेको प्लाइउड उद्योगीहरूले बताए ।
अहिले बीआइएसबाट प्रमाणपत्रको अवधि समाप्त भएको भन्दै भारतीय भन्सारले नेपालबाट निर्यात भएको प्लाइउड रोकेको हो ।
‘बीआइएसको आइएसआइ प्रमाणपत्र लिनका लागि भारत सरकारलाई नेपाली प्लाइउड उद्योगहरूले आवश्यक दस्तुर तिरिसकेका छन्, तर अहिलेसम्म प्रमाणपत्र आएको छैन,’ नेपाल प्लाइउड एसोसिएशनका केन्द्रीय सदस्य खेमराज प्रसाईंले भने, ‘देशभरमा ९० वटा जति प्लाइउड उद्योग छन् । ९ वटाले मात्रै बीआइएसबाट अनुमति पाएका छन् । यी उद्योगले पनि एक वर्षका लागि मात्रै पाएका छन् तर अहिलेसम्म नवीकरण भएको छैन ।’
देशभर रहेका प्लाइउड उद्योग मध्ये ६० प्रतिशत अर्थात ६६ वटा उद्योग भने कोशी प्रदेशमा छन् ।
प्लाइउड निर्यात पनि पूर्वी नाकाबाटै रोकिएको हो । विराटनगरको रानी भन्सार पारिको जोगवनी र झापाको काँकडभिट्टा पारि पानीटंकीस्थित भारतीय भन्सारले नेपाली प्लाइउड बोकेका ट्रक रोकिदिएको जनाइएको छ ।
‘यो समस्या देखिएपछि हामीले प्रधानमन्त्रीलाई एक महिना अघि नै ध्यानाकर्षण गराएका थियौं । आसन्न भारत भ्रमणमा पनि यो कुरालाई जोडदार उठाइदिन आग्रह गरेका छौं,’ प्रसाईंले भने, ‘नेपालबाट भारतको बीआइएसमा नियमपूर्वक दिनुपर्ने आवेदन दिएर आवेदन स्वीकृति भइसकेको छ । बीआइएसमा जम्मा गर्नुपर्ने सम्पूर्ण रकम जम्मा भइसकेको छ, अहिले भारतीय पक्षबाट आइएसआइ प्रमाणपत्र दिन भने ढिलासुस्ती भइरहेको छ ।’
आफ्नो समस्या समाधान गर्न आग्रह गर्दै पूर्वाञ्चल प्लाइउड संघ कोशीले सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका कोशी प्रदेश अध्यक्ष सीताराम अग्रवालको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।
नेपाली प्लाइउड उद्योग केही वर्षयता उत्पादनमा आत्मनिर्भर भइसकेको छ । जसका कारण भारतबाट प्लाइउड आयात गर्नु परेको छैन ।
निर्यातका लागि भने भारत सरकारले आइएसआइ प्रमाणपत्र प्राप्त नभएको भन्दै अवरोध खडा गरेको हो ।
आइएसआइ प्रमाणपत्र बिनाका उद्योगको प्लाइउड आयात नगर्न भारत सरकारले १५ मार्च २०२४ मै राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।
यो व्यवस्था १६ फागुन २०८१ (२८ फेब्रुअरी २०२५) देखि अनिवार्य रूपमा लागू हुने भन्दै भारतीय भन्सारले नेपालबाट प्लाइउड बोकेर गएका ट्रक रोकेको हो ।
अहिले नेपालबाट भारत निकासी हुने वस्तुहरूमध्ये प्लाइउड १०औं स्थानभित्र पर्दै आएको छ । सरकारले निकासीमा सहजीकरण गरिदिए ५ औं स्थानमा पर्न सक्ने नेपाल प्लाइउड एसोसिएशनका केन्द्रीय सदस्य महावीर मित्रुकाले बताए ।
भारतले दुई वर्षअघि पनि नेपाली प्लाइउड उद्योगको निर्यातमा अवरोध गरेको थियो । सरकारकै लविङले पुनः निर्यात अवरोध हटेको थियो ।
View : 498
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved