Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बेलगाम बोलीले थुनामा पुगे दुर्गा प्रसाईँ

उद्घोष सम्वाददाता
७ असोज २०८१, सोमवार

विराटनगर । बेलगाम बोलीका कारण बारम्बार विवादमा परिरहने झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाई आफ्नै बोलीका कारण प्रहरी हिरासतमा पुगेका छन् । उनलाई आइतबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

झापा बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रसाईलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी एक महिला नेतृले चरित्र हत्या गरेको आरोप लगाउँदै प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गालीगलौज नै गरेपछि ती नेतृ प्रहरी गुहार्न पुगेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमतिसमेत लिएको थियो । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले प्रसाईलाई  पक्राउ गरेको हो । पक्राउ परेका प्रसाईंमाथि ब्यूरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रसाईँ पक्राउ परेसँगै अब २५ दिनसम्म हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ ।

यो प्रक्रिया पूरा भएपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि उनी कारागार चलान हुन सक्छन् । दोषी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद हुन सक्नेछ ।

झापा बिर्तामोडका स्थायी बासिन्दा प्रसाई कुनैबेला माओवादी कार्यकर्ता थिए । माओवादीको युद्धकालमा बन्दोबस्तीका सामान सप्लाइ गर्ने उनी बिर्तामोडमा भैंसीपालनसमेत गर्थे । भैंसी पाल्दैदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई दुःख दिँदै आएका उनी केही वर्षयता कुस्त ऋण लिएर साँवा ब्याज नतिर्ने, उद्यमी व्यवसायीहरुलाई अनेकथरी लाञ्छना लगाउने तथा उटपट्याङ अनि अराजक गतिविधिमा सहभागी हुँदै आएका थिए । 

कृषि विकास बैंकबाट ऋण लिएर भैंसीपालन गरेका उनले त्यसबेला पनि साँवा र ब्याज नबुझाएपछि बैंकले पैसा तिर्न भन्दै पटकपटक पत्राचार गरेको थियो । तर, पैसा नतिरेका प्रसाईले एक दिन आफ्ना भैंसीको बगाल नै बैंकको प्रांगणमा पुर्‍याएका थिए । 

अहिले पनि उनी बैंकको अर्बौं पैसा लिएपछि नतिर्ने भन्दै देशव्यापी अभियानमा थिए । केही समयअघि मेडिकल कलेजले सम्बन्धन पाएपछि भने उनको अभियान केही मत्थर भएको छ ।

माओवादी त्यागेर एमाले हुनुअघिसम्म दुर्गा प्रसाई आफूलाई माओवादी अध्यक्ष प्रचण्डको छोरा हुँ  भन्थे । प्रचण्ड झापा आइपुग्दा उनको सम्पूर्ण व्यवस्थापन नै प्रसाईले गर्थे । कतिसम्म भने २०७४ को निर्वाचनको मुखैमा माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको आकस्मिक निधन भएको रात पनि प्रचण्ड बीएण्डसी अस्पतालकै गेष्ट हाउसमा थिए ।

झापाका नवधनाढ्य प्रसाईं एमाले हुनुअघिसम्म प्रचण्ड प्रधानमन्त्री बन्दा  आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रयास गर्थे । पटक–पटक त्यो प्रयास भइरहेको थियो ।  एमाले र माओवादी मिलाउन आफूले भूमिका निर्वाह गरेको बताउने प्रसाईको घरमा केपी ओली र प्रचण्डले चरेसको थालमा मार्सी चामलको भात खाएको फोटो भाइरल भएको थियो ।

नेकपा कालमा ओलीसँग निकट भएका प्रसाईँले प्रचण्ड शक्तिहीन बनेपछि आफू ओलीको नाति हुँ भन्दै उनीसँग निकटता बढाएका थिए । निकटता यति झ्यांगिएको थियो कि, कुनै राजनीतिक पृष्ठभूमि नै नभएका उनलाई ओलीले एमालेको केन्द्रीय सदस्य नै बनाइदिएका थिए । ओलीले पनि बेवास्ता गर्न थालेपछि उनीविरुद्ध सत्तोसराप गर्दै प्रसाईँले एमाले छाडेका थिए ।

यसपटक महिलामाथि दुर्व्यवहारयुक्त अभिव्यक्ति दिएर पक्राउ परेका उनी पक्राउ पर्नेबेलामा पनि आफूलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरिएको दाबी गरिरहेका थिए । यद्यपि प्रहरीले भने राजनीतिक विषयसँग प्रसाईँको कुनै सम्बन्ध नभएको, साइबर अपराधको विषयमा उनी पक्राउ परेको प्रहरीले स्पष्ट पारेको छ ।

View : 236

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved