Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ एमालेको १० औं जिल्ला अधिवेशन

फागुन १० गते एकैचोटी प्रतिनिधि छानिंदै

उद्‌घोष संवाददाता
२३ माघ २०८१, बुधवार

विराटनगर । नेकपा एमाले मोरङले आसन्न १० औं जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि फागुन १० गते एकैचोटी छान्ने तयारी अघि बढाएको छ । एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लाका १७ वटै स्थानीय तहका १५९ वटा वडामा एकैदिन प्रतिनिधि छनौट हुने बताए ।

जिल्ला अधिवेशनको तयारीका लागि गठित १० वटा उपसमिति मध्ये मंगलबार बसेको प्रचार प्रसार उपसमितिको बैठकमा बोल्दै अध्यक्ष कार्कीले जिल्ला अधिवेशनलाई व्यवस्थित र भव्य रुपमा गरिने बताए ।

‘अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन हामी प्रतिवद्ध छौं, राजनीतिलाई सही बाटो देखाउने गरी हामीले अधिवेशन सम्पन्न गर्नेछौं’ अध्यक्ष कार्कीले भने, ‘फागुन १० मा १५९ वटा वडामा एकैपटक प्रतिनिधि चयन हुने छन्, केही दिनमै प्रतिनिधिको अनुपात पनि तोक्ने छौं ।’

उनले पार्टीको विधानअनुसार मोरङमा १६५ सदस्यीय जिल्ला कमिटी गठन हुने जानकारी दिए । साथै १० औं अधिवेशन पार्टीको बृहत एकताको अधिवेशनका रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

नेकपा एमाले मोरङका प्रचार तथा प्रकाशन विभागका प्रमुख सन्तोष बान्तवाको अध्यक्षतामा बसेको बैठकमा सचिव रविन थापा, उपसचिव सोमराज थापा, विभागका उपप्रमुख मिनकुमार आचार्य लगायतले पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न सवै उपसमितिहरू सक्रिय रहेको बताए ।

उनीहरुले पार्टीको अधिवेशन संसदीय निर्वाचनजस्तो हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अधिवेशनमा गलत तरिकाले प्रतिनिधि प्रभावित पार्ने कामलाई निरुत्साहित गरिने बताए । 

एमाले मोरङको १० औं अधिवेशनअघि १८ हजार बढी सदस्य कायम भएको जनाइएको छ । साथै नेतृत्व चयन गर्दा अधिकतम रुपमा सर्वसम्मत गर्न प्रयास गर्ने र सर्वसम्मत हुन नसके नीति र नेतृत्वको बहस गर्दै स्वस्थ प्रतिष्पर्धा हुनुपर्नेमा नेताहरूले जोड दिए ।

View : 450

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved