Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

दीपावली स्नेह मिलन तथा खेलाडीलाई सम्मान

उद्‌घोष सम्वाददाता
१ मंसिर २०८०, शुक्रवार

विराटनगर : मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवाग्राम गौधाम (धार्के) मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको आयोजनामा द दीपावली स्नेह मिलन तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

सो अवसरमा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आगन्तुकहरूको स्वागत गर्दै शुभदीपावली, नेपाल सम्वत्, छठ पर्वको शुभकामना दिएका थिए । उनले मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपतमा पुर्‍याउँदै आइरहेको सेवा कार्यबारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रूकुमका  भूकम्प पीडितलाई राहत पठाउने कार्य भइरहेको बताए ।

पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पिफम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल पीडितहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

मारवाडी सेवा समिति नेपालले १९औं एशियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरूको सम्मान पनि गरेको छ ।

कार्यक्रममा १९ औं एशियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ ९ बलमा अर्धशतक बनाई विश्व कीर्तिमान बनाउन सफल दीपेन्द्रसिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई उनीहरूको हौसला एवं सम्मानस्वरूप जनही एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरी गरिएको थियो ।

त्यसैगरी कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाई नेपालीको शिर उच्च पार्न सफल एरिका गुरूङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरियो । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती अर्चना काबरा, मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्य दिएका थिए । 

View : 208

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved