सुन्दरहरैंचा : सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिधाम टोलमा जानुका पौडेल तथा उनका छोरा पुण्य पौडेलले बुहारीको विवाह गरेर कन्यादान गरिदिएका छन् ।
उनीहरूले बुहारी ३४ वर्षीया सुजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिदिएका हुन् ।
२०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सुजालाई बुहारी बनाएर भित्र्याएका थिए । जानुकाका कान्छा छोरा फडिन्द्र र सुजाबीच मागी विवाह भएको थियो । फडिन्द्रको २०७१ सालमा निधन भएको थियो ।
छोराको निधनपछि परिवारले बुहारीको विवाह गरिदिएका हुन् । कान्छी बुहारीको रूपमा भित्र्याएकी सुजालाई समाज परिवर्तनका लागि छोरीको रूपमा माया गरेर विवाह दान गरी बिदाइ गरेको जानुकाले उल्लेख गरिन् ।
सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरूले पारिवारिक सरसल्लाहबाट राजीखुसी विवाह गराइदिएको जेठाजु पुण्यले बताए ।
रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्ष पहिले निधन भएको थियो । रेग्मीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सुजा बैंकमा कार्यरत छिन् । इटहरी वडा न. ४ का वडाध्यक्ष भक्त लामा सासु तथा जेठाजुद्वारा बुहारीको कन्यादान गरिनु सकारात्मक कार्य तथा समाज परिवर्तनको संकेत भएको बताउँछन् ।
कर्मघरबाट छोरीको रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सुजाले बताइन् । सुजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि उदाहारण भएको बताए ।
View : 173
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved