Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

चलचित्र महोत्सवमा दुई दर्जन बढी कलाकार सम्मानित

उद्‌घोष संवाददाता
१३ जेठ २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशमा आयोजित ६ दिने चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘विभिन्न जातजातीको कथाहरूको उत्सव, कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारामा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह गरी सम्पन्न भएको हो ।

समापन कार्यक्रममा लामो समयदेखि सिने क्षेत्रमा योगदान पुर्याउने २ दर्जन बढी कलाकार, निर्माता, निर्देशक सिने पत्रकारलाई  सम्मान र अवार्ड प्रदान गरिएको छ ।

दीर्घ साधना सम्मानबाट लक्ष्मीनाथ शर्मा, कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने  शिव श्रेष्ठ, मोहन निरौला, रविन्द्र खड्का, नवीन सुब्बा, छविराज ओझा, रमेश बुढाथोकी, सुचित्रा श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी  प्रादेशिक सम्मानबाट सिने पत्रकार प्रेम देवान, गायक सुमित खड्का, श्रीकृष्ण लुईंटेल, वीरेन्द्र झा, फिल्मी क्षेत्रमा आवद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाईं, सुवास मेचेलाई सम्मान गरिएको थियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीले उनीहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा चलचित्र अवार्ड समेत प्रदान गरिएको थियो । कोशी प्रदेशमा रहेर लघु, वृत्त तथा कथानक चलचित्र निर्माण गर्ने टिमहरुलाई अवार्ड फ्रदान गरिएको हो ।

कार्यक्रममा विविध सांस्कृतिक कार्यत्रम समेत आयोजना गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको व्यवस्थापनमा  आयोजित महोत्सवमा झापा, सुनसरीको इटहरी, झुम्का, मोरङको विराटचोक र विराटनगरमा गरी ४ दर्जन बढी लघु, वृत्त, फिचर फिल्महरू प्रदर्शन गरिएको थियो ।

चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र, नेपाली चलचित्रमा महिलाको सहभागिता, अभिनय कार्यशाला लगायतका कार्यक्रम गरिएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

गत जेठ ६ गते झापाको विर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको कार्यक्रम ६ दिनपछि विराटनगरमा समापन गरिएको हो ।

View : 494

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved