बुढीगंगाले नियुक्त गरेका नगर प्रहरी । तस्वीर : कमल/उद्घोष
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले नियुक्त गरेका आफ्ना नगर प्रहरीलाई सशस्त्र प्रहरीको ढाँचामा ढालेको छ । पालिका प्रहरीलाई सशस्त्र प्रहरीले प्रशिक्षण दिएर आफ्नो जनशक्ति जस्तै दक्ष बनाउने प्रयास गरेको छ ।
सात जना नगर प्रहरीलाई सशस्त्र प्रहरीको ३ नम्बर गण कङ्कालनी मोरङले अग्नी नियन्त्रण, भिड नियन्त्रण, कार्यालय तथा जनप्रतिनिधि सुरक्षा, स्वागत सत्कारलगायत विषयमा १५ दिने प्रशिक्षण दिएको छ ।
नगर प्रहरीले ३ महिनामा सिक्ने सीप १५ दिनमै सिक्न सफल भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । नगर प्रहरीले सुरक्षा निकायसँग समन्वय गरेर पालिकामा शान्ति सुरक्षा दिनुपर्ने उनको भनाई छ ।
कङ्कालनी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेले सशस्त्र प्रहरीबाट प्रशिक्षण पाएका नगर प्रहरीले काम कर्तव्य, अधिकार, सुरक्षा, कानुनी साक्षरताबारे महत्वपूर्ण प्रशिक्षण पाएको जानकारी दिए ।
‘नगर प्रहरीले स्थानीय जनता र स्थानीय सरकार बीच सेतुको काम गर्न सिकाएका छौं’ उनले भने । नगर प्रहरीलाई सशस्त्रको शैलीमा प्रशिक्षण दिन घिमिरेले सशस्त्र प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिएका थिए ।
पालिका र स्थानीय सरकारले कतिपय विषयमा धेरै तनावहरू सहनुपर्ने गरेकाले नगर प्रहरी नियुक्त गरिएको बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर बताउँछन् ।
सडकमा राखिने व्यापार र हाट बजार व्यवस्थित गर्न जनप्रतिनिधि र कर्मचारीले भनेको नमान्ने भएकाले पनि नगर प्रहरीको आवश्यक्ता परेको उनको भनाई छ । पालिका भित्रका शिक्षित युवालाई रोजगारी दिइएको उनले बताए ।
उनका अनुसार नगर प्रहरी जवानमा भर्ना भएका कोपिल ऋषिदेव स्नातक उत्तीर्ण छन् । पूर्व प्रहरी तथा नगर प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार थापाको नेतृत्वमा रहेको नगर प्रहरीमा दुई महिला छन् ।
तालिम समापनका प्रमुख अतिथि विराटनगरका मेयर नागेश कोइरालाले वर्षायाममा हुने बाढी र डुबानको समयमा नगर प्रहरीको भूमिका ठुलो हुने बताए ।
प्रहरी भन्दा भिन्न भूमिका हुने भएकाले नगर प्रहरीले पालिका र जनता बीचमा पुलको कामगर्न सक्ने उनको भनाई छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार स्थानीय सरकारको नगर प्रहरीले ठूलो जिम्मेवारी लिएर अरू सुरक्षा निकाय भन्दा अग्रपङ्तीमा रहेर काम गर्न सक्नु पर्छ ।
सशस्त्र प्रहरीले विपद सूचकका लागि देशभरका पालिकाका प्रतिनिधिहरूलाई प्रशिक्षण समेत दिंदै आएको छ । एक वडामा २५ जना बिपद सूचक तयार गर्ने अभियान रहेको सशस्त्रले जनाएको छ ।
कोशी प्रदेशमा २८ हजार जना विपद सूचक तयार भई सकेको सशस्त्रका नायव महानिरीक्षक न्यौपानेले जानकारी दिए । त्यस्तै स्थानीय विपद स्वयम्सेवकको पनि सशस्त्रले १८ दिने प्रशिक्षण दिंदै आएको छ ।
कोशी प्रदेशमा यस्ता स्वयम्सेवक ९५ जना तयार भई सकेका छन् । न्यौपानेले गृह मन्त्रालयको आदेश अनुसार सबै पालिकाहरूलाई यो तालिमका लागि आग्रह गरिएको जानकारी दिए ।
View : 846
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved