सुनसरी । जनसहभागिताको हिसाबले अब्बल मानिएको इटहरी खानेपानी उपभोक्ता संस्थाको साधारण सभामा कुर्सी हानाहान भएको छ । बिहीबार संस्थाको सभाहलमा आयोजित २० औं बैठक तथा साधारणसभा चलिरहँदा परिषद सदस्यहरूबीच कुर्सी हानाहान भएको हो ।
संस्थाका महासचिव शालिकग्राम ढकालले बैठक सञ्चालन गरिरहँदा परिषद सदस्यहरूबीच विवाद सुरू भएको थियो । बैठकमा उपस्थित नेकपा एमाले निकट परिषद सदस्य र नेपाली कांग्रेस निकट परिषद सदस्यहरूबीच विवाद बढ्दै गएपछि एक अर्कामा कुर्सी प्रहार भएको सभामा सहभागी एक परिषद सदस्यले बताए ।
घम्साघम्सी र कुर्सी प्रहार भएपछि बैठक केही समय रोकिएको ती परिषद सदस्यले जानकारी दिए । तर पछि पुनः सुरू भएको बैठकलाई कार्य समितिले एक पक्षीय रूपमा अगाडि बढाएको आरोप लगाउँदै नेपाली कांग्रेस पक्षका परिषद सदस्यहरूले साधारणसभा बहिस्कार गरेका छन् ।
संस्थाका महासचिव ढकालले बैठकमा ९ वटा प्रस्ताव पेश गरेपछि कांग्रेस पक्षका परिषद सदस्यहरूले सभा सञ्चालन कार्यविधि अनुसार नभएको भन्दै विरोध गरेका थिए । उनीहरूले संस्थाको विधान समयअनुकूल नभएको भन्दै विधान संशोधन गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।
संस्थाको अध्यक्षसहित कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने, वडा समितिलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने लगायतका माग सहितको विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । तर कार्यसमितिले विधान संशोधनको विषयलाई प्रस्तावमा राख्न नमानेपछि कांग्रेस पक्षका सदस्यहरूले उठेर विरोध जनाउँदै बोल्न थाले ।
महासचिव र सदस्यहरूबीच सवाल जवाफ हुन थालेपछि एमाले पक्षका परिषद सदस्यले उठेर विरोध जनाएका थिए । त्यसपछि एमाले र कांग्रेस पक्षका सदस्यहरूबीच वादविवाद सुरू भयो । त्यसै क्रममा विवाद बढ्दै गएपछि एकले अर्कालाई कुर्सी उचालेर हान्न थालेको ती सहभागीले बताए ।
संस्थाको विधान संशोधन प्रस्ताव राख्न नमानेपछि विवाद सुरू भएको नेपाली कांग्रेस पक्षका परिषद सदस्य दीपक दाहालले जानकारी दिए । उनले भने,‘साधारणसभा नै फरक ढंगले चल्दा कार्यविधि अनुसार सञ्चालन गर्न माग गयौं । त्यो पनि भएन । पछि विधान समय अनुकुल नभएकाले प्रत्यक्ष निर्वाचित अध्यक्ष सहितको कार्यसमितिीचयन गर्नुपर्ने प्रस्ताव पेश गरियो । तर सुनुवाई भएन ।’
‘प्रस्तावको विषयमा छलफल नै नगरी हुन्छ कि हुन्छ भन्दै हात उठाउन लगाइयो । उहाँहरू धेरै हुनुहुन्छ । हाम्रो मागलाई दबाउन खोजियो’ दाहालले भने ।
खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष प्रेम बस्नेतले साधारण सभामा सामान्य विवाद मात्रै भएको बताए । परिषद सदस्यहरूले उठाएको विषय बहुमतले अस्वीकार गरेपछि बैठक नियमित रूपमा सञ्चालन भएको उनले जानकारी दिए । साधारण सभाले बैठकमा पेश भएका नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन लगायतका सबै ९ वटै प्रस्ताव बहुमतले पारित भएर सम्पन्न भएको बस्नेतले बताए ।
‘विवाद गर्न खोज्ने परिषद सदस्यहरूले विधान संशोधनको प्रस्ताव राख्नुभयो । हामीले बहुमतबाट प्रस्ताव ल्याउन भन्यौं । तर सभाको बहुमतले प्रस्ताव अस्वीकृत गरेपछि सो विषयलाई अगाडि लान सकिएन’ उपाध्यक्ष बस्नेतले स्पष्ट पारे । उनले थपे, ‘उहाँहरू विवाद गर्न खोज्ने मनसायमा हुनुहुन्थ्यो । अगाडिदेखि नै यो थाहा पाएका थियौं, आउनु भयो । प्रस्ताव अस्वीकार भएपछि बहिस्कार गरेर जानु भयो । भएको यत्ति हो ।'
त्यसपछि बैठकले सबै विषय बहुमतले पारित गर्यो । ‘खानेपानी उपभोक्ता संस्थामा १८३ परिषद सदस्य छन् । जसमा नेकपा एमालेको स्पष्ट बहुमत छ । एमाले निकट नेतृत्वको कार्यसमिति र बहुमत परिषद सदस्य छन् । एमाले बाहेकका अन्य दलहरूबाट केवल ५० जना परिषद सदस्य निर्वाचित भएका थिए ।
View : 104
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved