Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा आम्दानी घट्दा कसरी बढ्यो बजेट ?

महानगरले आगामी आवमा आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुग्ने महत्वकांक्षी अनुमान राखेको छ । तर आन्तरिक आयतर्फ चालु आवमा १ अर्ब १० करोड ७९ लाख १० हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्मको आम्दानी भने ४३ करोड ८५ लाख ४३ हजार ५३८ रुपैयाँ यथार्थ आय भएको छ ।
उद्‌घोष संवाददाता
११ असार २०८२, बुधवार

विराटनगर । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ६५ प्रतिशत मात्रै यथार्थ आम्दानी गर्न सकेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि भने ५० करोड थपेर ४ अर्ब ४० लाख रुपैयाँको बजेट अनुमान नगर सभामा प्रस्तुत गरेको छ । 

महानगरले आगामी आवमा आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुग्ने महत्वकांक्षी अनुमान राखेको छ । तर आन्तरिक आयतर्फ चालु आवमा १ अर्ब १० करोड ७९ लाख १० हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्मको आम्दानी भने ४३ करोड ८५ लाख ४३ हजार ५३८ रुपैयाँ यथार्थ आय भएको छ ।

चालु आर्थिक वर्षको आम्दानीमा ठुलो संकुचन देखिदेखि महानगरले आगामी आवको बजेट पूर्वाधार विकासमा केन्द्रित गरिएको घोषणा गरेको छ ।

चालु आव २०८१–८२ का लागि ३ अर्ब ४९ करोड १८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत भएको थियो । गत आवको नगर सभाबाट संशोधनसहित ३ अर्ब ५० करोड ३० लाख ८६ हजार कायम भएको थियो ।

उक्त बजेट कार्यन्वयनका लागि जेठ मसान्तसम्मको संशोधित कुल ३ अर्ब ५० करोड ३० लाख ८६ हजार आयको अनुमान गरिए पनि २ अर्ब २६ करोड ३५ लाख २३ हजार २ सय ७ रुपैयाँ मात्रै आय भएको उल्लेख छ । यो आय आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ६५ प्रतिशत मात्रै हो ।

चालु वर्षको आम्दानी नै घटेको अवस्थामा महानगरपालिकाले आय बढ्ने कागजी अनुमान देखाएर आगामी आवको लागि महत्वाकांक्षी बजेट प्रस्तुत गरेको हो । 

उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार १६ औं नगरसभामा महानगरको आगामी आव २०८२–८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेटको अनुमान प्रस्तुत गरेकी हुन् । 

झण्डै साढे ४ अर्बको बजेट कार्यन्वयन गर्न वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघ संस्थाबाट १६ लाख र चालु आवको मौज्दात १४ करोड प्राप्त हुने अनुमान प्रस्तुत गरिएको हो ।

महानगरपालिकाको अघिल्ला चार वर्षको बजेट अनुसार आन्तरिक राजस्व संकलनको अवस्था ६४ करोडभन्दा माथि पुगेको देखिंदैन । 

महानगरको तथ्यांक अनुसार आवमा २०७७–७८ मा ३९ करोड, २०७८–७९ मा ४९ करोड, २०७९–८० मा ६४ करोड र २०८०–८१ मा ६१ करोड मात्रै आन्तरिक आय संकलन भएको छ । तर आगामी आवमा १ अर्ब ४० करोड आन्तरिक आय हुने अनुमान प्रस्तुत गरेको छ ।

महत्वकांक्षी बजेट ल्याएको महानगरले आगामी आवको खर्चतर्फ सञ्चित कोषबाट विनियोजन हुने गरी १९ वटा वडा कार्यालयमा चालु तथा पूँजीगततर्फ कुल ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ । 

महानगरका लागि चालु तथा पूँजीगततर्फ २ अर्ब ६९ करोड २६ लाख १ हजार रुपैयाँ छुट्याएको छ । त्यस्तै संघ र प्रदेशबाट हस्तान्तरित सशर्त र समपुरक तर्फका योजना कार्यान्वयन गर्न ८७ करोड ५७ लाख ६७ हजार रुपैयाँ छुट्याएको हो ।

महानगरपालिका कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, ऋणको सावाँव्याज तिर्न ५ करोड, चालु आवको भुक्तानी बाँकीका लागि ८ करोड खर्च हुने अनुमान गरेको छ ।

महानगरपालिकाले सडक बोर्डबाट सञ्चालन हुने योजनामा १ करोड ५० लाख र नगरस्तरीय अन्य योजनामा ६४ करोड ६१ लाख १ हजार गरी भौतिक पूर्वाधार विकासतर्फ सवैभन्दा बढी १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, संघसंस्थाका लागि ५ करोड ५ लाख छुट्याइएको छ ।

आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासका लागि ३ करोड ३० लाख छुट्याइएको उल्लेख छ ।

महानगरपालिकाले नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरणमा २ करोड, सडक पूर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार विनियोजन गरेको छ ।

खर्च क्षमता ५० प्रतिशत मात्रै

आर्थिक वर्ष २०८१–८२ जेठ मसान्तसम्मको यथार्थ व्यय हेर्दा खर्च क्षमता पनि ५० प्रतिशतमात्रै देखिएको छ । कुल बजेट खर्च मध्ये २०८२ जेठ मसान्तसम्म १ अर्ब ७३ करोड ८३ लाख ९३ हजार ९० रुपैयाँ अर्थात ५० प्रतिशत मात्रै यथार्थ खर्च भएको छ ।

उक्त व्यय मध्ये चालुतर्फ १ अर्ब ७८ करोड १५ लाख ८६ हजार ७ सय अनुमान गरिएकोमा ११ महिनामा १ अर्ब २० करोड २३ लाख ३६ हजार ४ सय ३८ रुपैयाँ अर्थात ६७ प्रतिशत र पूँजीगततर्फ १ अर्ब ६७ करोड १४ लाख ९९ हजार ३ सय व्यय अनुमान गरिएकोमा ५१ करोड ९ लाख ८० हजार ४ सय ८८ रुपैयाँ अर्थात् ३१ प्रतिशत मात्रै खर्च भएको जनाइएको छ ।

वित्तीयतर्फ ५ करोडको खर्च अनुमान गरिए पनि २ करोड ५० लाख ७६ हजार १६४ रुपैयाँ मात्रै खर्च उल्लेख छ । 

नीति तथा कार्यक्रममा नाराको लर्को

महानगरपालिकाले आगामी आवका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दर्जनौं नारा उल्लेख गरिएका छन् । नीति तथा कार्यक्रमको हरेक विषय क्षेत्रमा झण्डै तीन दर्जन नारा समेटिएका छन् । यस्ता नारा मध्ये केही रोचक र केही चिल्ला देखिन्छन् ।

‘तपाँईको स्वास्थ्य महानगरको चासो’, ‘छोरी बचाऊ, छोरी पढाऊ’, ‘स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी’, ‘प्रविधियुक्त सिकाइ, विराटनगरको उचाइ’, ‘सुरक्षित, सम्मानजनक र दण्डरहित शिक्षण सिकाइ’, ‘खेल्दै सिक्दै’, ‘मितेरी विद्यालय’, ‘जहाँ खेलकुद, त्यहाँ महानगर’, ‘महिलाको आर्थिक सशक्तीकरण हाम्रो अभियान, ‘महिलामाथि लगानी महानगरको पहिचान’, ‘महानगरको चाहना हिंसारहित नगरको कामना’, ‘न्याय, समानता, रोजगारी –यही हो महिला सशक्तिकरणको तयारी’, ‘महानगरको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिको भविष्यको आधार’ भन्ने नारा नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी ‘सही व्यक्तिलाई सही समयमा सही रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान’, ‘सहकारी शुद्धीकरण हाम्रो अभियान’, ‘एक घर, एक रोजगारी’, ‘महानगरको लगानी तपाईंको आम्दानी’, ‘कर करले हैन रहरले तिरौं’, ‘खुसीले तिरौं कर, बनाऔं समृद्ध महानगर’, ‘हिंसारहित समाजको निर्माणमा सधै महानगर’, ‘न्याय महानगरको ध्येय, महानगरभित्रका हरेक घरधुरीमा कानुनी सचेतना’,  ‘सुरक्षित मैले काम गर्ने ठाउँ, रोजगारदाता र मेरो उच्च नाउँ’, ‘सक्षम युवा जनशक्ति, मनमुटुमा देशभक्ति’, ‘महानगरको आँखा, सबैसँग पुग्ने आशा’, ‘प्रविधिमैत्री महानगर, सुशासनको मुल आधार’, ‘हाम्रो नगर हरित शहर’ जस्ता नारा पनि नीति तथा कार्यक्रममा समावेश छन् ।

View : 568

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved