विराटनगर । कोशी प्रदेशकै ठुलो सरकारी अस्पताल विराटनगरस्थित कोशी अस्पतालमा आँखा रोग विषेशज्ञ (चिकित्सक) ६ जना भएपछि पनि शल्यक्रियाको सेवा थिएन ।
मंगलबारबाट अप्रेसन (शल्यक्रिया) सेवा सुरू भएको छ । दुई जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरेर सेवा सुचारू गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. रविनराज सिंहका अनुसार अप्रेशनको सेवा सुचारू गर्न निःशुल्क गरिएको हो । अस्पताल विकास समितिको निर्णयले अप्रेशनको शुल्क पछि निर्धारण गर्नेछ ।
मोरङको ग्रामथान गाउँपालिका–६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा आस्मा केसी र डा निश्चल घिमिरेसहितको ६ जनाको टोलीले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ ।
अत्याधुनिक उपकरणहरूबाट विशेषज्ञ चिकित्सकको टोलीले कोशी अस्पतालमा आँखा सम्बन्धी रोगको सफल उपचार सुरू भएको छ ।
कोशीमा अहिले मोतियाबिन्दु, आँखामा मासु पलाएको लगायतका रोगको शल्यक्रिया हुने गरेको छ । कोशी अस्पतालको आँखा विभागको बहिरङ सेवा (ओपीडी) मा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका थिए । शल्यक्रिया सुरू भएपछि धेरै भन्दा धेरै बिरामीले सेवा लिने डा सिंहको भनाइ छ ।
उनका अनुसार जापान सरकारको सयोगमा डेढ करोड रूपैंयाँ बराबरको शल्यक्रियामा प्रयोग हुने उपकरण प्राप्त भएको छ । अस्पतालमा सेवाग्राहीको चाप हेरिकन आँखाको वार्ड सञ्चालनको तयारी गरिनेछ ।
कोशी अस्पतालमा आँखा रोग विषेशज्ञका रूपमा नेपाल सरकारले दरवन्दी नपठाए पनि करारमा रहेर छ जना चिकित्सकले सेवा दिदै आएका छन् । यसअघि ओपीडीमा सेवा लिएर थप उपचारका लागि बिरामीले आँखा अस्पतालनै जानु पर्ने बाध्यता थियो ।
View : 274
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved