निर्माण सम्पन्न हुने बित्तिकै घर अगाडिको लडेको नाला हेर्दै स्थानीय राजनकुमार ओझा । तस्वीर: कमल/उद्घोष
विराटनगर । संघीय सरकारले भौतिक निर्माणमा गरेको लगानीलाई स्थानीय र प्रदेश सरकारले निगरानी नगर्दा दुरुपयोग हुने गरेको छ । विराटनगर–४ स्थित रेडियो नेपालको कार्यालय भएको खार्जी सडकको नाला बन्ने बित्तिकै भत्किएको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले एक करोड २८ लाख रुपैयाँमा नाला बनाउन ठेक्का लगाएको थियो । फाइन कन्ट्रक्सन इनरुवा सुनसरीले एक करोड ८० लाख रुपैयाँ बजेटको सो नाला निर्माण गर्न ५२ लाख रुपैयाँ घटेर ठेक्का कबोल गरी निर्माण गरेको थियो । नाला निर्माण सम्पन्न हुने बित्तिकै ४५ मिटर लडेको छ । १३ सय मिटरका लागि लिइएको ठेक्का ९ सय मिटर मात्रै बनाएर योजना सम्पन्न गरिएको छ ।
सडकको पश्चिममा नहर छेउ राजकुमार ओझाको घर अगाडिको नालाको पर्खाल लडेर नालामा झरेको छ । नाला लडेपछि आफ्नो घरहाताको पर्खाल पनि लड्ने सम्भावना भएको बताउँदै ओझाले वडा कार्यालयलाई जानकारी गराएको बताए ।
‘नालाको भित्री भाग ढलान गरियो त्यस माथि इँटा राखेर पर्खाल बनाइयो । न त्यसलाई अड्याउने पिलर थियो नत रड नै’ उनले भने । ठेकेदारले जसरी बनाए पनि इन्जिनीयरले सहमति दिंदा बन्ने बित्तिकैको नाला लडेको उनको भनाइ छ ।
संघीय सरकारले लगाएको ठेक्कामा विराटनगर महानगरपालिका तथा प्रदेश सरकारले चासो नदिएकाले कमसल काम भएको र बन्ने बित्तिकैको नाला लडेको उनी बताउँछन् ।
विराटनगर–४ का वडाध्यक्ष जितन थापा निर्माणका क्रममा कोबाट के काम हुँदैछ भन्ने औपचारिक जानकारी नभए पनि नाला भत्किएपछि स्थानीयले गुनासो गर्दा मात्रै यसबारे चासो लिएको बताउँछन् । खराब काम गर्ने ठेकेदार र त्यसमा संलग्न प्राबिधिक उपर छानविन हुनु पर्ने बताउँदै उनले दोषीलाई कारवाही गर्न वडाले पनि सिफारिस गर्ने बताए ।
स्थानीय समाजसेवी एवं नेपाल प्रहरीका पूर्व अधिकृत घजेन्द्र कार्कीका अनुसार नेपाल सरकारले लगाएको नाला कम्जोर भएको जनाउँदै सम्बन्धित निकायलाई निवेदन पनि गरिएको छ ।
नाला भन्किनु अघिनै स्थानीयले संघीय आयोजना कार्यान्वयन इकाईमा निवेदन दिँदै २४ फिट चौडाईको सडकमा लगाइनु पर्ने ८ इन्च मोटो स्ल्याब ११ फिट लामो र ४ इन्च मात्रै मोटाइ भएको जानकारी गराइएको थियो । सडकको दुबैतर्फ १३ सय मिटर हुनु पर्नेमा आधा मात्रै बनेको, ८ फिट मोटाइको ढलाई हुनु पर्नेमा ४ फिट मात्रै भएको स्थानीयले जानकारी गराएका थिए ।
‘नाला बनाउँदा ठेकेदारले गरेका कम्जोरी औल्याउँदै हामीले निवेदन दिएका थियौं तरपनि योजना सम्पन्न भएर ठेकेदारले रकम पाएको छ’ कार्कीले भने ।
नालामा इँटा लगाए पनि प्लाष्टर नगरेको, नालाभित्रको फोहर सफा नगरी छाडेको, निर्माणका क्रममा पुरिएको नाला त्यसै छाडेको, रेडियो नेपाल पूर्वको नाला ८ इन्च ढलान गर्नु पर्नेमा ४ इन्च मात्रै गरेको, पश्चिममा २० फिटको बाटोमा ११ फिट मात्रै स्ल्याव हालेको जस्ता कम्जोरी निवेदनमा उल्लेख थियो । यतिका कम्जोरी हुँदा पनि सो कार्यालयले ठेकेदारलाई कारवाही गर्नु पर्नेमा रकम निकाशा गरेर सम्मान गरेकाले आफुहरु आन्दोलनको तयारीमा रहेको उनले जानकारी दिए ।
इकाई कार्यालय विराटनगरका प्रमुख सुरेन्द्रकुमार साहले पनि नालामा लडेको विषयमा आफूले जानकारी पाएको र ठेकेदारलाई नै बनाउन लगाउने बताउँछन् । योजना सम्पन्न भएपछि मर्मत गर्ने ठेकेदारको समय रहेकाले अब भत्किएको नाला ठेकेदारले बताउँनु पर्ने छ ।
मर्मत संहारको काम ठेकेदारबाटै हुँने साहले बताएपनि ८ इन्च ढलान हुनु पर्ने स्ल्यावमा ४ इन्च मात्रै गरिएको बारे केही पनि बताएनन् । साहले ठेकेदार र उनले परिचालन गरेका प्राविधिकको निगरानी हुंदा हुंदै पनि भएका कम्जोरी सबै नबताए मन्त्रालयमा निवेदन दिन जाने स्थानीयको तयारी छ ।
View : 167
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved