लेटाङ । मोरङको लेटाङका विभिन्न धर्मका अगुवाहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तरधार्मिक एकता कायम राख्न संयुक्त आह्वान गरेका छन् ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा हालै भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनीहरूले घृणा र हिंसाभन्दा संवाद, भाइचारा र विवेकलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
लेटाङ नगरपालिका, अन्तरधार्मिक शान्ति सञ्जाल र सामुदायिक विकास मञ्चको आयोजनामा आइतबार अन्तरधार्मिक शान्ति पार्कमा सम्पन्न सर्वपक्षीय भेला तथा शान्ति–सद्भाव परिक्रमा कार्यक्रममा हिन्दू धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मोहम्मद अताउल्लाह, बौद्ध धर्मका लामा राजेन्द्र स्वाङ्वो, इसाई धर्मका पाष्टर आकाश थुलुङ तथा किरात धर्मका गुरु धर्मराज लिम्बूले संयुक्त अपिल जारी गरेका हुन् ।
संयुक्त अपिलमा सुनसरीको घटनाले सामाजिक एकता र धार्मिक सहिष्णुता कति संवेदनशील र महत्वपूर्ण विषय हो भन्ने पुनः स्मरण गराएको उल्लेख गर्दै सबै समुदायले आ–आफ्नो स्थानबाट शान्ति, सहिष्णुता र सद्भावको पक्षमा उभिनुपर्नेमा जोड दिइएको छ ।
अन्तरधार्मिक संवादमार्फत समाजमा फैलिन खोजेको असहिष्णुताको आगो निभाउनुपर्ने उनीहरूको भनाइ छ ।
हिन्दू धर्मगुरु राजेन्द्र ढकालले घटनापछि चिराचिरा बनेका विचार र भावनालाई अहिंसा, सहिष्णुता र शान्तिको सन्देशमार्फत जोड्न आवश्यक रहेको बताए । सबै धर्मका अनुयायी साझा उद्देश्यका साथ एक ठाउँमा उभिएर अन्तरधार्मिक शान्ति अभियानलाई थप सशक्त बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले सुनसरी र सिरहामा भएका धार्मिक तनावका घटनाले देशभर असर पारेको भन्दै त्यसको प्रभाव कम गर्न सर्वपक्षीय भेला र शान्ति–सद्भाव परिक्रमा आयोजना गरिएको बताए ।
लेटाङमा २०६५ सालदेखि धार्मिक तथा सामाजिक सद्भाव प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले नेपाली समाजको पहिचान आपसी मेलमिलाप र सहअस्तित्व भएकाले कुनै पनि प्रकारको विखण्डन स्वीकार्य नहुने बताए ।
दशवर्षे सशस्त्र द्वन्द्वपछि समाजमा देखिएका धार्मिक, जातीय तथा सामाजिक चुनौतीलाई मध्यनजर गर्दै धर्मगुरुको नेतृत्वमा सुरु गरिएको सद्भाव अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।
शान्ति बन्दुकको बलमा नभई आपसी विश्वास, संवाद र सहकार्यबाट मात्र सम्भव हुने उनले बताए ।
कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, धर्मगुरु तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले धार्मिक विविधतालाई नेपालको शक्ति मान्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
View : 15
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved