Biratnagar, Morang, Nepal
८ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता :'शेइयान-२७' उपग्रह प्रक्षेपण

उद्‌घोष सम्वाददाता
६ वैशाख २०८२, शनिवार

शानसी (चीन), ६ वैशाख । चीनले आज बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् ।

यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्वपूर्ण सहयोग पुर्याउनेछ ।

साथै, यस्ता परीक्षण उपग्रहहरूले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन् । यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो ।

प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट श्रृंखला ‘लङ्ग मार्च’ अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो श्रृंखलाको पाँच सय सत्तरीऔँ उडान रहेको छ । यस सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्दछ । (रासस/सिन्ह्वा)

View : 66

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved