विराटनगर । विराटनगरका पत्रकारहरूलाई पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न ऊक्त कार्यत्रममा सञ्चार तथा आमसञ्चार विषयका विज्ञ डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणका क्रममा डा. आचार्यले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोग, यसको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा विशेषगरी च्याटजीपीटी, डिपसिक, जेमिनी बाहेकका अन्य प्रमुख एआई उपकरणहरूको परिचय र व्यवहारिक प्रयोगका तरिकाबारे अवगत गराइयो ।
साथै, समाचार लेखन, तस्वीर सम्पादन, भिडियो निर्माण र डिजिटल सामग्री व्यवस्थापनमा एआईको प्रयोग कसरी प्रभावकारी ढंगले गर्न सकिन्छ भन्नेबारे पनि व्यावहारिक लिंक र स्रोतहरूको प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा नक्कली समाचार (फेकन्यूज), नक्कली भिडियो र त्यसले समाजमा पार्ने भ्रम तथा प्रभावबारे छलफल भएको थियो । यस्ता सामग्रीका कारण उत्पन्न हुन सक्ने गम्भीर सामाजिक, नैतिक र व्यावसायिक चुनौतीहरूबारे पनि जानकारी दिइएको थियो।
सो कार्यक्रममा सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपक दाहाल, उपाध्यक्ष महाप्रसाद खतिवडा, अग्रज पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारी, सहसचिव श्यामसुन्दर सुतिहार, सल्लाहकार बन्धु पोखरेल लगायतको सहभागिता थियो ।
कार्यक्रमले पत्रकारहरूलाई बदलिंदो प्रविधिमा सुसूचित भएर जिम्मेवार र सत्यतामा आधारित पत्रकारिता गर्न प्रेरणा प्रदान गरेको सहभागीहरूको प्रतिक्रिया थियो ।
View : 185
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved