Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

इजरालय पुगेर पीडित हुनेलाई सहानुभूति दिंदै राजदूत बास

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । इजरायलमा हमासको आतङ्ककारी हमलामा मारिएका सुनसरी बराहक्षेत्र नगरपालिका मधुवनका राजेश स्वर्णकारको परिवार घटनाको लामो समयपछि पुनः शोकमा डुब्यो । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास बुधबार स्वर्णकारको परिवारलाई सहानुभूति दिन पुग्दा मृतककी आमा भक्कानिइन् । 

बाबु बोल्न सकेनन् भने राजेशका दुई दाजु र एक भाइ तीनै जना इञ्जिनीयरहरूका कुनै शब्द थिएनन् । उनीहरूलाई न इजरायलप्रति रिस थियो नत सभानुभूति नै । थियो त केवल राजेशको मृत्युको सम्झना ।

उच्च शिक्षाका लागि इजरायल पुगेका राजेशसँगै ठूलो समूहमा आएका आतङ्ककारीले हत्या गरेका थिए । त्यहाँको आतङ्कवादबारे चासो नभएका विदेशी विद्यार्थीसहित एक हजार दुई सय जनाको एकै दिन हत्या भएको थियो । 

शोकमा रहेको परिवारले वार्षिक सुद्ध्याइँ गर्नुअघि आएका राजदूत बासलाई स्वर्णकार परिवारले हत्यारालाई कारवाही गराउन सक्ने प्रतिनिधिका रूपमा हेरे ।

राजदूत बासले उनको परिवारलाई सहानुभूति दिंदै राजेशका दाजुभाइले चाहना गरे बमोजिम उच्च शिक्षाको प्रवन्धका लागि आफू इजरायल सरकारसँग आग्रह गर्ने आश्वासन दिए । 

हमासले बन्धक बनाएका बिपीन जोशीको रिहाइका लागि इजरायलले सक्दो प्रयास गरिरहेको पनि उनले बताए ।

सन् १९६० मा पहिलो पटक देशका रूपमा इजरायललाई नेपालले स्वीकार गरेकाले पनि सम्पन्न राष्ट्र इजरायल नेपालप्रति ठूलो सभानुभूति राख्छ । इजरायल देश बारेका जानकार सोमनाथ अधिकारीले भने– ‘महामहिमको भ्रमणको उद्देश्य इजरायल गएका नेपालीको विषयमै केन्द्रित हो ।’

इजरायलको बङ्करमा बसेर आतङ्ककारी हमलाबाट जोगिएर आएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई कार्यालयमै गएर राजदुत बासले भेटघाट गरे ।

साँझ कोइरालासँगै बसेर बासले खानपिन गरेका थिए । इजरायल गएका नेपालीले कुनै समस्या भोगेको भए उनीहरूलाई सहानुभूति दिनु बासको उद्देश्यसहितको कोशी प्रदेशको भ्रमण थियो । 

इजरायलको कुनै शहरसँग विराटनगरको भगिनी सम्बन्ध राख्न सहजीकरणका लागि मेयर कोइरालाले उनीसँग आग्रह गरे । 

‘उनी सकारात्मक छन्, कृषि र शिक्षामा सहयोग गर्न तयार देखिएकाले लिखित माग राख्न भनेका छन्’ कोइरालाले भने । मेयर कोइरालालाई उनै बासले इजरायल घुम्न पठाएका थिए । 

‘आतङ्कवादी गतिबिधिले इजरायल घुम्न पाइएन, पुनः त्यहाँ जाने उनलाई बताएको छु’ कोइरालाले भने । 

इजरायललाई देशको रूपमा स्वीकार गर्दाका नेपालका नेता विश्वेश्वरप्रसाद कोइरालाको निवास विराटनगरको कोइराला निवासमा बिहीबार बिहान राजदूत बास पुगेका थिए । त्यहाँ उनले कोइराला परिवारका सदस्य नभेटे पनि स्थानीय नेताहरूसँग कुरा गरेका थिए ।

बुधबार र बिहीबारको दुुई दिने विराटनगर बसाइका क्रममा बासले मुख्यमन्त्री हिक्मत कार्कीलाई कार्यकक्षमा गएर भेटघाट गरे । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलिया र आरकेजी ग्रुपका सञ्चालक राजकुमार गोल्छालाई कार्यकक्षमै गएर भेटे । गोल्छा सञ्चालक रहेको सुनसरीको बर्जुस्थित सीतागञ्जमा रहेको कृषि फारमको निरीक्षणसमेत गरेका थिए ।

राजदुत बासले बिहीबार बिहान विराटनगरको काली मन्दिरको दर्शन गरेका थिए । नेपालमा राजनीतिक आन्दोलनको सुरूवात गर्ने विराटनगर जुटमिलको निरीक्षण गरेका उनले पत्रकार महासंघका प्रतिनिधिहरूसँग पनि छलफल गर्न भ्याए । 

बिग होटल विराटनगरमा एक रात बास बसेर रत्ना होटलमा एक छाक खाएका उनले त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै कृषि अध्ययन र रिपोर्टिङका लागि नेपाली पत्रकारलाई इजरायलमा स्वागत गर्न तयार रहेको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले राजदूत बासलाई इजरायलमा सीप सिकेका नेपालीको वर्तमान अवस्था बारे पत्रकारलाई लेखनवृत्तिमा सहयोग गर्न आग्रह गरे । 

विश्वमै कृषिमा अग्रणी देश मानिने इजरायलको प्रबिधि र त्यसबाट लिन सकिने उपलब्धि बारे नेपालका ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारलाई अध्ययन अवलोकन र रिपोर्टिङको अवसर दिनुपर्ने रिमालले सुझाव दिए ।

View : 370

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved