Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

‘भुजेल खोज्दै हिँड्दा’ पुस्तक विमोचन

उद्‌घोष सम्वाददाता
३० मंसिर २०८१, आइतवार

विराटनगर । भुजेल जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहास समेटिएको ‘भुजेल खोज्दै हिँड्दा’ पुस्तकको शुक्रबार विमोचन गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एक समारोह बीच सो पुस्तकको विमोचन गरेका हुन् । नगर प्रमुख कोइरालाले विराटनगर महानगरपालिकाभित्र बसोवास रहेका १२२ जात–जाति र भाषा–भाषीको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि महानगरले सहयोग गर्ने बचन दिए ।

अध्येता लक्ष्मण थुसिरोङ भुजेलद्वारा लिखित सो पुस्तक विराटनगर महानगरपालिका वडा नं. १६ को सहयोगमा भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिले प्रकाशन गरेको हो ।

पुस्तकमा लेखकले समृद्ध भाषा, संस्कृति भएका घर्तीभुजेलहरू इतिहासको विभिन्न कालखण्डमा कहिले संहारकारी दमनमा पारेर, कहिले साँस्कृतिक संहारमा पारेर, कहिले वर्चस्वशाली जातिको धर्म संस्कृतिको चेपाइमा पारेर पहिचानविहीन पारिएको उल्लेख गरेका छन् ।

यस्ता भौतिक र संस्कृतिक संहारमा परेका घर्ती भुजेलहरूको इतिहास लामो कालखण्डसम्म ओझेलमा परेको दुश्चक्रलाई चिर्ने कोशिस गरेका छन् । 

नेपाली सभ्यताको इतिहासमा शासकहरूबाट चलाइएका संसारकै अनौठो दासप्रथा जस्ता कालो अध्यायको उजागर गरेका छन् ।

पुस्तक विमोचन समारोहमा भुजेल समाज सेवा समिति केन्द्रीय समितिका अध्यक्ष  खेमराज भुजेल, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढकबहादुर मगर, समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल, वडा नंं.१६ का वडाध्यक्ष उद्धवकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ १ नं. समन्वय परिषद् सचिवालयका उपाध्यक्ष नारायण भुजेललगायतले संस्कार र संस्कृतिको बारेमा विचार व्यक्त गरेका थिए । 

समाजका अध्यक्ष गोपाल भुजेलको अध्यक्षतामा आयोजित समारोहमा समाजका केन्द्रीय सदस्य भुपाल खवास, सुरेन्द्रराज भुजेल लगायतको उपस्थिति रहेको थियो ।

View : 161

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved