सुनसरी । निःशुल्क स्वास्थ्य बीमादेखि सुबिधा सम्पन्न बहुतल्ले ब्यापारिक भवन बनाउने योजनासहित दुहबी नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार सुरू भएको १७ औं नगरसभाले ९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट सार्वजनिक गरेको हो ।
दुहबी नगरपालिकाले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगततर्फ ७१ करोड ७२ लाख ८६ हजार ८ सय रूपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आफ्नो बहुबर्षे योजनामा बहुउपयोगी ब्यापारिक भवन बनाउने योजना अगाडि सारेको छ ।
१७ औं नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर मेनुका खतिवडाले बहुउपयोगी भवन निर्माणको लागि ९ करोड १७ लाख बजेट विनियोजन गरेको बताइन् ।
सार्वजनिक निजी साझेदारी मोडेलमा कम्प्लेक्स निर्माण गर्न लागिएको र त्यस बापत पालिकाले आम्दानी गर्ने उनको भनाइ छ ।
उक्त भवन बनाउनका लागि नगरपालिकाले अतिक्रमित जग्गा गत बर्षनै बल प्रयोग गरी खाली गराएको थियो ।
बिगत बर्षदेखिनै खेलकुदलाई प्राथमिकता दिएको नगरपालिकाले निर्माणाधिन दुहबी रङ्गशालाका लागि १ करोड ९७ लाख विनियोजन गरेको छ ।
आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरेको नगरपालिकाले विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बीमा तथा निःशुल्क मोतियाविन्दु र जलविन्दुको शल्यक्रिया गर्ने योजना सारेको छ ।
१२ वडामा समेटिएको दुहबी नगरपालिकालाई प्रति वडा ९० लाखको सिलिङ तोकिएको छ ।
औद्योगिक नगरीको रूपमा परिचित दुहबीले छिमेकी बुढिगंगा गाउँपालिकासँग मिलेर सार्वजनिक निजी साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।
स्थानीय उद्योगलाई समेत फोहोरमैला व्यवस्थापनमा थप कडाइ गर्ने पालिकाले नीति लिएको जनाएको छ ।
औद्योगिक प्रदुषण बढेको भन्दै नगरवासी पटक–पटक आन्दोलित बनेपछी नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रदुषण घटाउने नीति कडाइका साथ लागू गर्ने भएको हो ।
नगरसभाको अवसरमा ४ जना उत्कृष्ट कर्मचारी र एक उद्योगलाई सम्मान गरिएको थियो ।
View : 311
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved