विराटनगर । गत भदौको युवा बिद्रोहका बेला नेपालका बिभिन्न कारागारबाट भागेका २ सय ५५ जना कैदी बन्दीको भारतको बिहारमा खोजी भइरहेको छ ।
भारतीय प्रहरीले ती फरारहरूलाई खोजी गरेर नेपाल प्रहरीलाई बुझाउने बताइएको छ ।
कारागारबाट भागेका मध्ये यतीको संख्यामा बिहार राज्य ठेगाना भएकाहरू छन् ।
गृह मन्त्रालयको आग्रहमा भारतीय सुरक्षा निकायले उनीहरूको खोजी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
हिन्दुस्तान दैनिकका अनुसार, बिहारका सबै जिल्लाका प्रमुख (डीएम) हरूले सम्बन्धित जिल्लाका प्रहरी प्रमुखहरूलाई फरारको खोजीको आदेश दिएका छन् ।
उनीहरूलाई पक्राउ गर्दै जाने र नेपाल प्रहरीलाई बुझाउँदै जाने समाचारमा जनाइएको छ ।
आसन्न निर्वाचनमा ती फरारहरूबाट समस्या हुन सक्ने भएकाले पनि खोजीमा भारतीय सुरक्षा निकायले चासो दिएको छ ।
नेपालका कारागारहरूबाट ५ सय ४० जना भागेका मध्ये समाउन बाँकी बिहारका मात्रै २ सय ५५ जना रहेको बताइएको छ ।
फरार भारतीयहरू नेपाल भारत सीमावर्ति क्षेत्रमा लुकेर बस्ने प्रहरीको अनुमान छ ।
भारत र नेपाल दुबैतर्फ खोजी हुने भएकाले सीमावर्ति क्षेत्रमा उनीहरू लुक्न सक्ने र निर्वाचनका बेला उनीहरूले अपराध गर्न सक्ने प्रहरी अनुमान छ ।
हालै विराटनगरमा भएको झापा, मोरङ, सुनसरी र बिहारका तीन जिल्लाका सुरक्षा प्रमुखहरूको बैठकमा पनि दुबै देशबाट अपराध गरेर भागेकाहरूको ब्यापक खोजी हुने सहमति भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार भारतबाट पनि अपराध गरेर आएकाहरूको सूचना लिएर नेपाल प्रहरीले खोजी गर्दैछ ।
दुबै देशका सुरक्षा समकक्षीसँग समन्वय गरेर यताबाट भागेकालाई भारतमा र उताबाट आएकालाई नेपालमा पक्राउ गरिने थापाले बताए ।
फागुन २१ को निर्वाचनमा दुबै देशका अपराधीहरूले असर गर्न सक्ने भएकाले त्यसमा प्रहरीको विषेश निगरानी भई रहेको छ ।
बिभिन्न अपराधको मुद्दा भोगिरहेका ब्यक्तिहरू भागेकाले उनीहरू हातहतियार तथा विष्फोटक पदार्थको कारोबारमा संलग्न हुन सक्ने देखिएको छ ।
निर्वाचन बिथोल्न बिभिन्न शक्तिहरूले उनीहरूलाई परिचालन गर्न सक्ने प्रहरीको अनुमान छ ।
कारागारबाट भागेकाहरूको खोजीका लागि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेर खोजतलास भई रहेको उनको भनाई छ ।
उनका अनुसार झापा, मोरङ र सुनसरीमा हालसालै पनि कारागारबाट भागेकाहरू पक्राउ परेका छन् । फरारहरू भेटिन सक्ने सम्भावित स्थानहरूमा प्रहरीले दैनिक निगरानी गर्दै आएको छ ।
निर्वाचन सुरक्षाका लागि सुरक्षा निकाय केन्द्रित रहेकाले सीमावर्ति क्षेत्रमा अपराध बढ्न सक्ने भएकाले विषेश निगरानीका लागि भारतीय प्रहरीको सहयोग लिई रहेको थापा बताउँछन् ।
निर्वाचनका बेला चार दिनसम्म नेपाल–भारत सीमा नाका बन्द गरेर सुरक्षामा कडाइ गरिने दुबै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।
View : 91
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved