थामे हिम बाढीः
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँको थामे खोलामा शुक्रबार दिउँसो अचानक आएको हिम बाढीमा परी एकजना बेपत्ता भएका छन् । बोल्न नसक्ने अवस्थाका व्यक्ति बाढीमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीले थामेका गाउँका १२ वटा घर बगाएको छ । हिमाली क्षेत्रका लागि ठुलो धनसम्पत्तिको नोक्सानी भएको हो । व्यक्ति बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए ।
‘एक जना बोल्न नसक्ने गाउँले बेपत्ता हुनुभएको जानकारी आएको छ, हामीले खोजी सुरु गरिसकेका छौँ’ एसएसपी दाहालले भने ‘उहाँको नाम हामीकहाँ आइसकेको छैन, गाउँले बेपत्ता बनेको स्थानीयले भनेपछि प्रहरी खोजीमा जुटेको छ ।’
थामे गाउँमा अपरान्ह चार बजेतिर प्रहरी पुगेको जनाइएको छ । प्रहरीले घटनास्थलमा उद्धार गर्ने, खोज्ने र विस्थापित बनेका स्थानीयलाई अस्थायी बासस्थानको प्रबन्ध गर्ने कार्यमा खटिएको जनाइएको छ ।
करिब एक सय जना जति गाउँलेलाई अस्थायी बासको प्रबन्ध गर्नुपर्ने अवस्था बनेको प्रहरीले जनाएको छ । थामे खोलाको तटीय क्षेत्रमा वर्षौंदेखि बसेको बस्तीका अधिकांश घरहरू क्षतिग्रस्त बनेका छन् ।
‘एउटा छात्रावास, ५ वटा होटल सहितका १२ वटा घर बाढीले बगाएको छ’, एसएसपी दाहालले भने ‘त्यसबाहेक एउटा क्लिनिक र एउटा स्कुलमा बाढीले क्षति पुर्याएको छ, यसरी आंशिक र पूर्ण रुपले क्षति पुग्ने घरको सङ्ख्या १४ पुगेको छ ।’
बर्खाको समयमा त्यो क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएकै कारण ठूलो मानवीय क्षतिबाट जोगिएको जनाइएको छ ।
सोही क्षेत्रका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले मध्य दिनमा बाढी आएका कारण पनि मानवीय रुपमा ठुलो क्षति हुन नपाएको बताए ।
थामे गाउँका सवै विस्थापित, माथिल्लो थामेमा बास
थामेस्थित नेपाली सेनाको भगवतिप्रसाद गुल्मका मेजर कमल केसीले सोलुखुम्बुको पर्यटकीय क्षेत्र नाम्जेबाट घटनास्थल १५ किलोमिटरको दूरीमा रहेको बताए । उनले साढे १ बजेतिर बाढी आएको र नेपाली सेना २ बजे नै खटिएर स्थानीयलाई उद्धार गरी अग्लो स्थानमा सुरक्षित रुपमा राख्न सहयोग गरेको बताए ।
‘हामीले सुरुमा ७-८ जनालाई उद्धार गरेको थियौँ’ मेजर केसीले भने, ‘वहाँहरू माथिल्लो थामे इलाकामा बसिरहनु भएको छ, अहिले यहाँको मौसम निकै बिग्रिएको छ, तीब्र हावा चलेको छ, हुस्सु लागेको छ ।’
उनका अनुसार थामेमा यो सिजनमा १२० जना जति सर्वसाधारण रहेको जनाइएको छ । बाढीले बस्तीका अधिकांश घरमा क्षति पुर्याएका कारण उनीहरु माथिल्लो थामेमा बसिरहेको जनाइएको छ । मेयर केसीले अहिलेसम्म घटनामा कोहीपनि घाइते भएको जानकारी नपाएको र एकजना व्यक्ति बेपत्ता भएको जानकारी आएको बताए ।
‘एकजना मिसिङ भन्ने जानकारी आएको छ, तर पुष्टि भएको छैन’ उनले भने, ‘माथिल्लो क्षेत्रमा हिमपरिरो नै फुटेको हो कि भन्ने अनुमान छ ।’
View : 227
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved