Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अदालतमा हाजिर भएका उमागौरीका अध्यक्ष रौनियार प्रहरीको जिम्मामा

उद्‌घोष सम्वाददाता
१५ माघ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । ऋणीहरूको ऋण तथा बचत रकमसमेत अपचलन भएको आरोपमा प्रहरी अनुसन्धानपछि दायर भएको मुद्दाका मुख्य आरोपी उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित भए पनि उनी प्रहरी हिरासतमा पठाइएका छन् । 

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरूद्ध मुद्दा दायर भएपछि उनी फरार थिए । 

रकम हिनामिनाका आरोपीहरू धमाधम धरौटीमा रिहा भएपछि अध्यक्ष रौनियार पनि सोमबार अदालतमा हाजिर भएका थिए ।

अदालत हाजिर भएपछि सो मुद्दामा न्यायाधीश अरूणकुमार झाको इजलासमा बयान सुरू भएको हो । तर सोमबार उनको बयान नसकिएपछि अदालतले मोरङ प्रहरीलाई जिम्मा लगाएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । 

‘आजै बयान सकिएन’ बुढाथोकीले भने, ‘अदालतबाट प्रहरीको जिम्मा लगाइएको छ, भोलि पनि बयान भएपछि थुनछेक बहस हुन्छ, त्यसपछि मात्रै सबैकुरा आउँछ ।’

यो मुद्दामा यसअघिसम्म मोरङ जिल्ला अदालतमा उपस्थित भएका ७ जना प्रतिवादीहरू मध्ये सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित ६ जना धरौटीमा छुटेका छन् । धनपालथान–४ का रोशन राजवंशीमात्रै पूर्पक्षका लागि थुनामा गएका छन् ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जना विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा २६ जनालाई जनही २२ करोड २८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको उल्लेख गरी बिगो कायम गरिएको छ ।

२७ मंसिरमा मोरङ जिल्ला अदालतमा दायर भएको मुद्दामा हालसम्म सवैभन्दा बढी १० लाख रूपैयाँ धरौटीमा कोइराला छुटेकी थिइन् ।

View : 59

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved