Biratnagar, Morang, Nepal
३१ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजमा सीक्यूआई तालिम

उद्‌घोष संवाददाता
३१ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, दक्षता तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको निरन्तर गुणस्तर सुधार (सीक्यूआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सोमबार आयोजित तालिममा स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामीको सुरक्षा र सन्तुष्टिसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा निरन्तर गुणस्तर सुधार (सीक्यूआई) को उद्देश्य र स्वास्थ्य सेवामा यसको महत्व, सीक्यूआई फाराम भर्ने प्रक्रिया, गुणस्तर सुधारका आधारभूत सिद्धान्त तथा योजना, कार्यान्वयन, जाँच र सुधार (पीडीसीए) चक्रको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो ।

त्यस्तै बिरामी सुरक्षा, प्रभावकारिता, कार्यदक्षता, समयमै सेवा प्रवाह तथा बिरामी केन्द्रित सेवाजस्ता स्वास्थ्य सेवाका गुणस्तरीय मापदण्डबारे समेत प्रशिक्षण दिइएको थियो । 

समस्याको मूल कारण पहिचान गर्न रुट कज एनालाइसिस (आरसीए) र फिसबोन डायाग्राम, गुणस्तर सूचकको पहिचान तथा अनुगमन, घटना र सम्भावित घटना प्रतिवेदन, क्लिनिकल अडिट, प्रमाणमा आधारित अभ्यास, बिरामीको प्रतिक्रिया तथा गुनासो व्यवस्थापनका विषयमा पनि प्रशिक्षण दिइएको थियो ।

यसैगरी जेसीआई र नाब्ह जस्ता स्वास्थ्य संस्था प्रमाणीकरण तथा गुणस्तर मापदण्डबारे जानकारी दिँदै गुणस्तर सुधारका गतिविधिमा स्वास्थ्यकर्मीहरूको भूमिका र जिम्मेवारीबारे समेत प्रशिक्षण दिइएको थियो । तालिमको प्रशिक्षक विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटा थिए । 

अस्पतालले कर्मचारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्दै स्वास्थ्य सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन यस्ता तालिम तथा क्षमता विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ । 

अस्पतालका अनुसार यस्ता कार्यक्रमले सुरक्षित, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।

क्रिटिकल केयर लेभल–३ आईसीयू उत्कृष्ट

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नर्सिङ स्टाफ, नर्सिङ इन्चार्ज, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरूको मनोबल र हौसला अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘वार्ड अफ द मन्थ’

कार्यक्रमअन्तर्गत २०८३ साउन महिनाको उत्कृष्ट विभागको उपाधि क्रिटिकल केयर लेभल–३ आईसीयूले प्राप्त गरेको छ ।

मंगलबार आयोजित विशेष कार्यक्रममा क्रिटिकल केयर लेभल–३ आईसीयूलाई उक्त सम्मान प्रदान गरिएको हो । 

उत्कृष्ट सेवा, अनुशासन, कार्यसम्पादन र समर्पणका आधारमा छनोट गरिएको अस्पतालले जनाएको छ ।

उक्त उपलब्धिलाई विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूको अथक मेहनत, व्यावसायिक दक्षता र बिरामीप्रतिको जिम्मेवारी तथा निष्ठाको कदरका रूपमा लिइएको छ ।

अस्पतालले ‘वार्ड अफ द मन्थ’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने विभाग तथा टिमलाई सम्मान गर्ने जनाएको छ । 

यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउनुका साथै अस्पतालको सेवा गुणस्तरलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अस्पतालको विश्वास छ ।

View : 15

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved