विराटनगर । मन्त्रालय संख्या घटाएर सुशासन र मितव्ययिताको नारा दिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कामैविनाको राज्यमन्त्री नियुक्त गरी डेढ महिनादेखि बरण्डामा थन्काएर राखेका छन् । मुख्यमन्त्री कार्कीले गत जेठ ४ गते नियुत्त गरेका दुई राज्यमन्त्री मध्येकी एक सिर्जना राईको काम भने यतिखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जाने र हाजिर गर्ने मात्र छ ।
फाट्टफुट्ट केही सार्वजनिक कार्यक्रममा मुख देखाउन पुग्ने राई गत जेठ ४ गते दोस्रो पटक राज्यमन्क्री नियुत्त भएकी हुन् । डेढ महिना बितिसक्दा पनि उनलाई मुख्यमन्त्री कार्कीले जिम्मेवारी तोकेका छैनन् । यद्यपि राज्यमन्त्री राईले आफूले असार ७ गतेबाट विशेष जिम्मेवारी पाएको दावी गरेकी छन् । उनकै भनाइअनुसार उनले पाएको जिम्मेवारी भनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने हो ।
‘मेरो काम अरु मन्त्रीहरूसँग समन्वय गर्ने र मुख्यमन्त्रीज्यूलाई रिर्पोटिङ गर्ने हो’ उनले भनिन् । उनले आफूले विभिन्न १० बुँदाको जिम्मेवारी पाएको तर ती सबै कण्ठ नभएको बताइन् ।
अहिलेसम्मकी विनाविभागीय राज्यमन्त्री राईले झण्डावाल गाडीमा बडीगार्डसहित मुख्यमन्त्री कार्यालय आउने र हाजिर गर्ने सुविधा पाएकी छन् । भोजपुर घर भएकी उनी एमालेकी समानुपातिक सांसद हुन् ।
मुख्यमन्त्रीका सचिवालय सदस्यहरू बस्ने कार्यकक्ष नै अहिले राज्यमन्त्री राईको कार्यकक्ष भएको छ । ‘त्यसै पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय साँघुरो छ, राज्यमन्त्री होस् कि क्याबिनेट मन्त्री जो भए पनि तिनै सचिवालय सदस्यहरू बस्ने कोठा बाँडचुँड गरी बस्नुपर्छ’ मुख्यमन्त्री कार्यालयका एक कर्मचारी भन्छन् । उनले यसअघि पनि विनाविभागीय मन्त्री, राज्यमन्त्रीहरू नियुत्ति हुने गरेको बताए ।
‘तर छोटो अवधिका लागि मात्र नियुक्त हुन्थे, मन्त्रालय तोकेपछि आफ्नो बाटो लाग्थे’ उनले भने, ‘अहिले त राज्यमन्त्री केही दिनको पाहुना होला भन्ठानेको, यतै पो डेराडण्डा जमाएजस्तो छ ।’
उनले मुख्यमन्त्री भएको कार्यालयमा राज्यमन्त्रीको खासै भाउ नहुने गरेको अनुभव पनि सुनाए । ‘मुख्यमन्त्री कार्यालयमा कि मुख्यमन्त्रीको खोजी हुन्छ कि तिनको सचिवालयको’ उनी भन्छन्, ‘पार्टीकै कार्यकर्ताहरू पनि राज्यमन्त्रीको खासै वास्ता गर्दैनन् ।'
संविधानमा भएको केही प्रावधान र अदालतको आदेशका कारण हिक्मतकुमार कार्की पटक–पटक मुख्यमन्त्री नियुत्त र पदमुक्त हुँदै तेस्रो पटक मुख्यमन्त्री पदमा बहाल छन् । उनी पहिलो पटक २०७९ पुस २५ गते मुख्यमन्त्री नियुत्त भएका थिए । उनले मुख्यमन्त्री नियुत्त भएपछि १३ वटा मन्त्रालय संख्या घटाएर ९ बनाएका थिए ।
मितव्ययिता र सुशासनको नारा दिएर मन्त्रालयको संख्या घटाइ नौ वटा मन्त्रालय बनाएका कार्कीको मन्त्रिपरिषदमा अहिले मन्त्रीको संख्या १० छ । त्यसमा सिर्जना राई र वन्दना झाँगरसहित दुई जना राज्यमन्त्री छन् । गत जेठ ४ गते विस्तार गरिएको कार्कीको मन्त्रिपरिषद्मा झाँगरले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् । राई भने अहिलेसम्म फाजिल दरबन्दीजस्तो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै बरण्डामा सीमित छन् ।
यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी राज्यमन्त्री झाँगर उक्त मन्त्रालयको एक्ली मन्त्री भने होइनन् । उक्त मन्त्रालयमा उदयपुरका प्रदेश सभा सदस्य नारायणबहादुर मगर मन्त्री छन् । मुख्यमन्त्री कार्कीले आफूसँग उद्योग, कृषि तथा सहकारी मन्त्रालय राखेर बाँकी सबै मन्त्रालयमा मन्त्री नियुत्त गरिसकेका छन् ।
कार्की पछिल्लो पटक नेकपा माओवादी केन्द्रको सहयोगमा गत बैशाख २७ गते मुख्यमन्त्री नियुत्त भएका थिए ।
View : 355
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved