Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

‘वन व्यवस्थापनमा जोड दिइने’

उद्घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

जनकपुर, ९ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापनबाट विश्व्यापी रूपमा भइरहेको हरितगृह ग्याँस उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन । 

यहाँको बटेश्वर गाउँपालिकाको ८२ बिघा क्षेत्रफलमा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे मुख्यमन्त्री सिँहलाई ध्यानाकर्षण गराउन अभियन्ताहरू पुगेका थिए ।

अभियन्ताहरुसँग कुरा गर्दै उनले वन व्यवस्थापनमा जोड दिइने बताएका हुन ।

आज जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिँहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट बाँकी रहने नदी उकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।

“सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दूरीमा रहनुपर्ने कारण समस्या छ तर यसको समाधान खोजिनेछ,” उनले भने ।

मुख्यमन्त्री सिँहले मधेस प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायत काम गरिरहेको जानकारी दिए ।

उनले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए । 

मुख्यमन्त्री सिँहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नीलगाई व्यवस्थापन, नमूना पकेट क्षेत्र घोषणाअनुसार किसानलाई अनुदान र आँपखेतीका लागि विशेष अनुदानमा कीटनाशक औषधि, मलखाद र उपकरणको व्यवस्था, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बटेश्वर नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालित छ । रासस

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved