Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वी शिक्षालयबाट एनसीसी तालिममा ५ सय ३१ क्याडेट दिक्षीत

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

सुनसरी । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सञ्चालन भएको सि.सं ५१ औं एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा पाँच सय ३१ क्याडेट दीक्षीत भएका छन् । 

पूर्वी तालिम शिक्षालय याङशिला मोरङमा बुधबार आयोजित दीक्षान्त कवाज समारोहमा २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई दिक्षीत गरिएको हो । 

राष्ट्रिय सेवा दल पूर्वी शिक्षालयले कोशी, मधेस र बागमती प्रदेशका १८ विद्यालयका क्याडेटहरूलाई तालिम दिएकोमा बुधबार एक समारोहको आयोजना गर्दै उनीहरूको तालिम सफलता पूर्वक सम्पन्न भएको घोषणा गर्दै उत्कृष्ट गर्नेहरूलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरिएको हो । 

तालिममा प्रत्येक विद्यालयबाट ३० जनाको दरले क्याडेट सहभागी भएका थिए । जसमा आधा छात्र र आधा छात्रा रहेका थिए । 

तीन सातासम्म दिइएको उक्त तालिममा जगन्नाथ डेडराज जनता माविका क्याडेट नवीन बिक छात्रतर्फ सर्वोत्कृष्ट भएका छन् । झापाको इष्ट होराइजन अंग्रेजी माविकी क्याडेट बिनिशा बस्नेत छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन् । 

सहभागी १८ विद्यालयमध्ये इष्ट होराइजन अंग्रेजी मावि सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ । 

दीक्षान्त समारोह लगायत कवाजको सलामी ग्रहण नेपाली सेनाको सैनिक इन्टेलिजेन्ट महानिर्देशनालयका महानिर्देशक उपरथी नकुलबहादुर रायमाझीले गरेका थिए । 

सलामी ग्रहण पश्चात् दीक्षान्त कार्यक्रममा बोल्दै उपरथी रायमाझीले तालिममा हासिल गरेको सीपलाई ब्यवहारमा लागु गर्दै राष्ट्रिय एकताको भावना लिई काम गर्न क्याडेटहरूलाई निर्देशन दिए । 

कार्यक्रममा दिक्षीत क्याडेटहरुले ब्याण्ड डिसप्ले, खुकुरी डिल, तेक्वान्दो पीटी, नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वी शिक्षालयले पहिलो र दोस्रो चरणको तालिम सम्पन्न गरिसकेको छ । 

बुधबार तेस्रो तथा अन्तिम चरणको तालिम सम्पन्न गरेसँगै अब सिं सं. ५२औं तालिम आगामी आर्थिक वर्षमा सञ्चालन हुनेछ । 

नेपाली सेनाले विं सं २०२२ सालदेखि युवाहरूको ब्यक्तित्व विकास गर्ने उद्देश्यले देशभरका विभिन्न सरकारी तथा निजी विद्यालयहरूमा अध्ययनरत छात्रछात्रालाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन गर्दै आएको जनाएको छ । 

यसअन्तर्गत उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरूलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरूलाई जुनियर डिभिजन तालिम सञ्चालन गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।

View : 162

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved