Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोलकाता–विराटनगर कार्गो रेल ऐतिहासिक उपलब्धि : मोरङ उद्योग व्यापार संघ

उद्‌घोष संवाददाता
६ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवाको औपचारिक सुरुवात नेपालको पूर्वी औद्योगिक क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

संघका अध्यक्ष अनुपम राठीले संघले एक दशकदेखिको निरन्तर पहल, पैरवी र नीतिगत दबाबपछि कार्गो रेल सेवा सञ्चालनमा आउन सफल भएको बताए । 

उनले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगीले लामो समयदेखि भारतका बन्दरगाहबाट सिधै विराटनगरसम्म रेलमार्फत मालसामान ल्याउने व्यवस्था माग गर्दै आएकोमा अहिले त्यो माग पूरा भएको बताए ।

तीन वर्षअघि नै आवश्यक रेल पूर्वाधार निर्माण सम्पन्न भएर परीक्षणसमेत गरिएको तर व्यावसायिक रुपमा सेवा सञ्चालनमा नआउँदा पूर्वको उद्योग व्यापारमा प्रत्यक्ष असर परेको उद्योगी व्यवसायीले बताउँदै आएका थिए । 

नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा रहेका नीतिगत प्रावधानका कारण सेवा नियमित सञ्चालन हुन नसकेको अवस्थामा अहिले सवै मालवस्तु आयातमा सहज भएको हो ।

दुवै देशबीच आवश्यक कानुनी तथा नीतिगत संशोधन भएपछि अहिले सबै प्रकारका औद्योगिक कच्चा पदार्थ तथा कन्टेनरयुक्त मालसामान सिधै विराटनगर आईसीपीसम्म ल्याउने बाटो खुलेको अध्यक्ष राठीले बताए ।

नयाँ कार्गो रेल सेवाबाट उद्योगी–व्यवसायीले ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत गर्न सक्ने बताए । 

‘यसले उद्योगहरूको उत्पादन लागत घटाउनुका साथै कच्चा पदार्थको आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने छ’ अध्यक्ष राठीले भने ।

रेलमार्फत आउने सबै कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) जडान हुने भएकाले मालसामानको सुरक्षा बढ्ने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम न्यून हुने तथा मोबाइलबाटै कन्टेनरको अवस्थाबारे निगरानी गर्न सकिने जानकारी दिए । 

साथै बन्दरगाहमा लाग्ने डेमरेज र डिटेन्सन शुल्कसमेत घट्ने भएकाले आयातकर्ताको लागतमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको उनले बताए ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved