विराटनगर । बाढी र डुबानका समयमा उद्धारका लागि विराटनगर महानगरपालिकाले मोटरबोट खरिद गरेको छ । ९ लाख ७५ हजारमा खरिद गरेको सो मोटरबोट मंगलबार केसलिया नदीमा परीक्षण पनि गरिएको छ ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले केसलिया खोलामा परीक्षण गरेका हुन् । वर्षाको समयमा बाढी र डुबानमा फँसेका नागरिकलाई उद्धारमा सघाउ पुर्याउने उद्देश्यले मोटरबोट खरिद गरिएको मेयर नागेश कोइरालाले बताए ।
उनका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ । महानगरसँग यसअघि रबरबोट मात्रै थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनु पर्ने बाध्यता थियो ।
विराटनगरको पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केसलिया नदीको बाढी र डुबानबाट हरेक वर्ष विराटनगरवासी पिरोलिदै आएका छन । महानगर प्रहरीका चार जनाले मोटरबोटबाट उद्धार गर्न विशेष तालिम समेत लिइसकेको बताइएको छ ।
View : 140
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved