विराटनगर । शंकास्पद जापान भ्रमणका कारण विवादमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मन्त्री पदबाट बुझाएको राजिनामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्वीकृत गरेका छन् ।
मन्त्री अधिकारीले बुधबार दिउँसो मुख्यमन्त्री कार्कीलाई भेटेर राजिनामा बुझाएका थिए । मुख्यमन्त्री कार्कीको सचिवालयका अनुसार मन्त्री अधिकारीले बुझाएको राजिनामा स्वीकृत भएको हो ।
अधिकारी कोशी प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए ।
मन्त्री अधिकारीले आफूले प्रक्रिया नपुर्याई जापान भ्रमणमा गएको कुरा स्वीकार गरेका छन् । तर उनले व्यक्तिगत निम्तोका आधारमा जापान गएको र सार्वजनिक विदा भएकोले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउन समय नपाएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
उनको भ्रमण भने शंकास्पद बन्दै गएको छ । अधिकारी टोकियो महानगरपालिकाको निम्तो भन्दै गत अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि सुटुक्क जापान उडेका थिए ।
उनले आफू जापानमा सहभागी हुने कार्यक्रमकै लागि भन्दै जापानका लागि ट्रान्जिट परेको हङकङमा शंकास्पद मानिसहरू भेटिएको बताएका छन् ।
उनले शंकास्पद मानिसहरूलाई पक्राउ समेत गराइसकेको दाबी गरेका छन् । ती मानिससँग आन्तरिक मामिला मन्त्रालयकै परिचय पत्र र कागजात समेत रहेको मन्त्री अधिकारीले नै स्वीकार गरेका छन् ।
मन्त्री अधिकारीको भनाई अनुसार उनी कुनै गिरोहको योजनामा परेको हो वा उनी नै त्यसमा संलग्न रहेको आशंका गरिएको छ ।
View : 171
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved