Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा एमालेले सम्झियो गणेश रसिक

उद्‌घोष सम्वाददाता
३ असार २०८२, मङ्गलवार

विराटनगर । ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा रसिकको सर्जनात्मक योगदानको चर्चा गरिनुका साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित वरिष्ठ साहित्यकार भूराज राई र कवि विमल वैद्यले रसिकको बहुआयामिक सृजनामाथि विस्तृत चर्चा गरे । 

उनीहरूले रसिकले राष्ट्र, प्रकृति र जीवनका विविध आयामलाई गीत, कविता र गीति नाटकमार्फत उजागर गरेको उल्लेख गर्दै वर्तमान पुस्ताका लागि उनको साहित्य प्रेरणादायी रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेले गणेश रसिकको सृजनामा राष्ट्रप्रेम र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति रहेको बताए । 

विभाग प्रमुख खेम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रेम अधिकारी, महेश रेग्मी, प्राज्ञ गंगा सुवेदीलगायतले पनि रसिकको साहित्यिक योगदानमाथि विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको सांगीतिक पक्षमा स्वर संगम संगीतालयका कलाकारहरूले रसिकका चर्चित गीत ‘लहरा, पहरा, छहरा’ र ‘घरबेटी नानी’ प्रस्तुत गरेका थिए । 

त्यस्तै कवि प्रयाग न्यौपाने, प्रमोद ढकाल, भरत गुरागाईं र छवि बैरागीले रसिकका कविता वाचन गरेका थिए ।

View : 59

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved