Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रौतामाईले बनायो सुविधा सम्पन्न २८ कोठे भवन

प्रधानमन्त्री दाहालले गरे उद्घाटन
उद्‌घोष सम्वाददाता
२० माघ २०८०, शनिवार

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । २८ कोठे प्रशासनिक भवनको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस वर्षदेखि सरकारले बजेट बनाउने तरिका बदल्ने बताए । उनले आगामी जेठमा आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरू संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भइसकेको बताए । उनले आगामी बजेट अझ बढी जनमुखी हुने बताए ।

प्रधानमन्त्री दाहालले देश आर्थिक संकट भएपनि अहिले अवस्था सुधार हुँदै गएको दाबी गरे । उनले विदेशी मुद्रा सञ्चिती वृद्धि भएको, पर्यटकको संख्या बढेको र रेमिटेन्स पनि बढेको, घरजग्गा कारोबार फुकुवा भएर आर्थिक चलायमान भएको र बैंक ब्याजदर घट्दै गएकोले अर्थतन्त्र सुधार भएको बताए ।

प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय भर्‍याङ (लिफ्ट) समेत जडान गरिएको छ । उक्त भवनमा एउटा सभाहल, न्यायिक समितिको इजलास सहित २८ वटा कोठा रहेको जनाइएको छ । सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिकाबाट हुने दैनिक सार्वजनिक सेवा प्रवाह अझ सहज हुने गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार मगरले बताए ।

प्रशासनिक भवन निर्माणका लागि आव २०७७/०७८ मा बजेट विनियोजन गरी टेन्डर लागेको थियो । भवन निर्माणका लागि २०७७ असोज ११ मा तत्कालीन गाउँपालिका प्रमुख गजेन्द्र बहादुर खड्काले शिलान्यास गरेका थिए । निर्माण कम्पनी रौताहा–धुलिखेल– सुसम आदित्य जेभिले २०८० भाद्र ११ गते निर्माण सम्पन्न गरेको हो । 

७ करोड ८७ लाख रुपैयाँ लागतमा २०७७ असोज ११ मा ठेक्का सम्झौता भएर उक्त भवन समयमै निर्माण सम्पन्न भएको हो । रौतामाई गाउँपालिका– २ स्थित भुट्टारमा १० कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त प्रशासनिक भवन साढे दुई तलाको रहेको छ ।

View : 241

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved