कप्तानगन्ज (सुनसरी) । आइतबार रातिबाट अशान्त बनेको देवानगन्जस्थित कप्तानगन्ज अझै पनि ठूलो युद्धपछिको उराठलाग्दो सन्नाटा जस्तो वातावरणमा उकुसमुकुस छ ।
गाउँका सडकमा नेपाली सेना, प्रहरी र सशस्त्र टोलीको बाक्लो ओहोरदोहोर छ । लगातार लाग्दै आएको कफ्र्युको अन्त्यहीन श्रृंखला कहिले रोकिएला, गाउँमा पहिलेझैं शान्ति र सद्भाव कहिले फर्केला ? आक्रोश र भयले आक्रान्त सर्वसाधारण यिनै प्रश्नको उत्तर पर्खिरहेका छन् ।
गएको आइतबार राति हिंसात्मक झडप भएपछि लगाइएको कफ्र्यु पाँचौ दिन पुग्दा झन् कडा बनाइएको छ ।
उद्घोषले बिहीबार दिनभरी कप्तानगन्ज र आसपासका सर्वसाधारणसँग कुराकानी गरेको छ । उनीहरूलाई लगभग उस्तै प्रश्न सोधेको थियो ‘अब के गरे पहिलेझैं अमनचैन र शान्ति फर्केला भन्ने लाग्छ ?’ आइतबारको गोलीकाण्डमा परेर दुई जनाले ज्यान गुमाएको अनि आठ जना अझै अस्पतालमा उपचाररत रहेको अवस्थामा कप्तानगन्जबासीले राज्यसँग गरिरहेको पहिलो अपेक्षा ‘न्याय’ को हो ।
आफ्ना मान्छे गुमाउनुपरेको पीडामा न्याय र बिग्रिएको सामाजिक सम्बन्धलाई फेरि जोड्ने राजनीतिक पहलकदमी स्थानीयबासीले चाहेका छन् ।
आइतबार रातिको हिंसात्मक घटनाको केन्द्रबिन्दु कप्तानगन्जस्थित श्रीराम चोकमा बिहीबार दिउ“सो कडा सुरक्षा घेराबीच स्थानीयबासी नाराबाजीसहित प्रदर्शन गरिरहेका थिए ।
‘यही सडक किनारको झाडीबाट एक्कासी गोली चलेको हो,’ प्रदर्शनको अग्रपंक्तिमा भेटिएका एक स्थानीयले आक्रोशित हुँदै भने, ‘पाँच दिन भइसक्यो मान्छे ढलेको तर खोई सरकार ? प्रधानमन्त्री र गृहमन्त्री कहाँ छन् ? हामीलाई न्याय नदिएसम्म कसरी घरभित्र थुनिएर बस्नु ।’
स्थानीयहरू श्रीराम चोकमा न्यायको माग गर्दै नाराबाजी गरिरहेकै बेला अर्को स्तब्ध बनाउने खबर फैलियो ।
विराटनगरको न्युरो अस्पतालमा पाँच दिनदेखि मृत्युसँग जुधिरहेका जयप्रकाश मेहताको उपचारका क्रममा ज्यान गएको खबरले स्थानीयबासीलाई झनै द्रवित तुल्यायो । यसअघि नै ओमप्रकाश मेहतालाई गुमाइसकेको यो गाउँका लागि जयप्रकाशको मृत्युको खबर अर्को ठूलो बज्रपात बन्यो ।
खबर पाएलगत्तै आक्रोशित स्थानीयको जुलुस देवानगन्ज बजारतिर मोडियो । ‘कि त प्रधानमन्त्री वा गृहमन्त्री आफै आएर यहाँको तनाव साम्य पार्नुपर्छ, होइन भने राजीनामा दिनुपर्छ’ जुलुसमा सहभागी युवा राकेश मेहताले भने, ‘यति संवेदनशील घटनालाई केवल सेना खटाएर र कफ्र्यु थपेर समाधान गर्न सकिन्छ भन्ने सोच नै गलत छ ।’
कप्तानगन्जमा जनता सडकमा ओर्लेर राज्यको उपस्थिति खोजिरहँदा काठमाडौंको संसद् बैठकमा भने प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए । ५ दिन बित्दा पनि शंकास्पद व्यक्तिहरूमाथि कारबाही नहुनु र अनुसन्धान सुस्त हुनुले जनआक्रोश झनै बढाएको छ । कप्तानगन्जबाट सुरु भएको यो अशान्तिको बाछिटा अहिले सप्तकोशी नाघेर सिरहासम्म फैलिइसकेको छ ।
कप्तानगन्जका स्थायी बासिन्दा सन्जय मेहता इटहरीको कस्तुरी कलेजमा अध्यापन गराउने इन्जिनियर हुन् । बिहीबार कप्तानगन्जमा प्रदर्शन भइरहँदा उनी त्यहीँ भेटिए । उनका अनुसार प्रशासन र राज्यको कमजोरीले यो अवस्था आएको हो ।
‘पछिल्लो एक महिनादेखि नै यहाँ एउटा सूक्ष्म तनाव र अविश्वासको हावा चलिरहेको थियो,’ उनले भने । सञ्जयका अनुसार केही साताअघिसम्म श्रीराम चोककै चिया पसलहरूमा दुई समुदायका मानिसहरू एउटै बेञ्चमा बसेर गफ गर्थे । पछिल्ला दिनहरूमा मानिसहरू समूह–समूहमा छुट्टिन थालेका थिए । चिया पसलका बैठकहरू बदलिएका थिए ।
‘तनाव बढ्दैछ भन्ने कुरा जनप्रतिनिधि र स्थानीय प्रहरीलाई पनि थाहा थियो,’ सञ्जयले चिन्ता व्यक्त गरे, ‘समयमै दुवै समुदायका अगुवाहरूलाई एउटै टेबलमा राखेर संवाद गराएको भए यो ठूलो दुर्घटना टर्न सक्थ्यो । तर, कसैले समयमा ध्यान दिएन । अहिले तनाव धेरैतिर फैलिदा पनि सरकार र नेतृत्व जिम्मेवार देखिएन ।’
कप्तानगन्जको मुख्य सडकबाट भित्री गल्लीतिर छिर्ने हो भने गाउँमा भय उच्च रहेको सजिलै थाहा पाउन सकिन्छ । वैदेशिक रोजगारीबाट फर्केका रामचन्द्र मेहता घरअगाडि उभिएर चोकको दृश्य हेरिरहेका थिए ।
उनले सुस्तरी भने, ‘तीन–चार दिनदेखि राति सुत्न सकिएको छैन । बच्चाबच्चीलाई ससुराली पठाएँ । घरमा म र मेरी श्रीमती मात्र छौं । यो तनाव तत्काल अन्त्य गर्न सरकारले पहल गर्नुपर्छ ।’
अर्का स्थानीय युवा सन्तोष यादवको प्रश्न सुरक्षा व्यवस्थाको शैलीमाथि थियो । ‘तपाईं नै भन्नुस्, कफ्र्युले प्रदर्शन रोकेको छ र ?,’ उनले भने, ‘भोलि सुरक्षाकर्मीलाई पनि नटेर्ने अवस्था आयो भने के गर्ने ? के यहाँ दुई देशबीच युद्ध भएको हो र ? हामीलाई माथिबाट बल प्रयोग होइन, राज्यको मध्यस्थतामा सार्थक संवाद चाहिएको छ । सामाजिक रुपमा समाधान खोज्न सरकारले ढिला नगरोस् । घटनामा ज्यान गुमाएका परिवारलाई र घाइतेलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्नेछ ।’
कप्तानगन्जमा देखिएको भयको दायरा निकै फराकिलो छ । तर, यो आक्रोश र अविश्वासको मुनि सद्भाव फिर्तीको चाहना पनि स्थानीयबासीमा उत्तिकै बलियो छ । बिहीबार साँझपख गृहमन्त्री सुनसरी आउन लागेको र प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेको खबर गाउँमा फैलिरहेको थियो ।
सेना र प्रहरीले तत्कालका लागि थप मुठभेड रोक्न सक्लान्, तर मान्छेका मनमा उब्जिएको संशय हटाउन राजनीतिक र सामाजिक संवाद नै एकमात्र विकल्प भएको स्थानीयबासीको मत छ ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved