Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्घोषको मञ्चमा नेताहरूको वाद–प्रतिवाद

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको काँध फेरिफेरि सरकारको नेतृत्व गरेकोतर्फ लक्ष्य गर्दै पोखरेलले थपे ‘तेस्रोको नेतृत्वमा पहिलो र दोस्रो दल सहभागी भए । त्यसपछि त संसारमा कतै नभएको अभ्यास गर्दै पहिलो र दोस्रो दल नै मिलेर सरकार बनाए ।’
उद्‌घोष संवाददाता
३ भदौ २०८२, मङ्गलवार

विराटनगर । उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव समारोह सोमबार दुई चरणमा विभक्त थियो । पहिलो चरणमा अखबारको दुई दशक लामो यात्रामा विभिन्न क्षेत्रबाट योगदान गर्नेहरू सम्मानित र पुरस्कृत भए । 

उद्घोषका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले समारोहमा उपस्थित सबैलाई स्वागत गरेका थिए । 

पहिलो चरणको यो संक्षिप्त कार्यक्रमपछि ‘थिमेटिक सेसन’ चल्यो, जहाँ राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले प्रारम्भमा ‘कि नोट स्पिच’ दिएका थिए । 

मुलुकको राजनीति र सामयिक स्थितिको विश्लेषण गर्दै प्राध्यापक पोखरेलले वर्तमान सत्ता गठबन्धन संसारमा कहिं नभएको विकृत अभ्यासको स्वरूपमा खडा भएको टिप्पणी गरेका थिए ।

मुलुकका औंलामै गनिने राजनीतिशास्त्री पोखरेलले संसदीय अभ्यासबारे विश्वव्यापी अनुभवसहितका दृष्टान्त राख्दै भनेका थिए ‘संसदीय अभ्यासको सबैभन्दा स्वाभाविक अभ्यास भनेकै पहिलो ठूलो दलले सरकारको नेतृत्व गर्ने, अर्कोले विपक्षी भूमिका निर्वाह गर्ने हो । तर, मिश्रित निर्वाचन प्रणालीको संवैधानिक प्रवन्धले कसैको बहुमत आउँदैन, आएन । त्यसपछि तेस्रो दलले सरकारको नेतृत्व गर्यो । विकृति त्यहींबाट सुरू भयो ।’ 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको काँध फेरिफेरि सरकारको नेतृत्व गरेकोतर्फ लक्ष्य गर्दै पोखरेलले थपे ‘तेस्रोको नेतृत्वमा पहिलो र दोस्रो दल सहभागी भए । त्यसपछि त संसारमा कतै नभएको अभ्यास गर्दै पहिलो र दोस्रो दल नै मिलेर सरकार बनाए ।’ 

पोखरेलले यस्तो विकृत अभ्यासबाट मुक्तिको उपाय पनि सुझाए । ‘नेताहरूले बहुमत ल्याउँछु भनेको सुन्छु, त्यो ढाँट कुरा हो । बहुमत कसैको पनि आउनेवाला छैन, संविधानकै कारणले पनि आउँदैन’, उनको भनाइ थियो ‘त्यसैले अब देब्रे ढल्कुवाहरूको एउटा र दाहिनेतिर ढल्किएकाहरूको अर्को एलाइन्स बन्नुपर्छ । त्यसो गर्दा बहुमत आउनसक्छ । कम्तीमा अहिलेको विकृति अन्त्य हुनसक्छ ।’ 

त्यसो त यसअघि २०७४ मा दुई तिहाइ नजिकको बहुमत हुँदा पनि नटिकेको प्रसंग निकाल्दै पोखरेलले विवेकी र बलियो नेतृत्वमा मात्रै सफलता टिकाउ हुनसक्ने बताएका थिए । पोखरेलले वृद्ध नेताहरूका कारण पनि समस्या बढेको भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका थिए । 

पोखरेलले विषयवस्तु प्रस्तुत गरेपछि विभिन्न राजनीतिक दलका नेताहरूले त्यसैमाथि आधारित रहेर टिप्पणी गरेका थिए । 

पोखरेलको अभिव्यक्तिको कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चर्को प्रतिवाद गरेका थिए । पोखरेलको विचार सैद्धान्तिक र व्यवहारिक दुवै कसीमा कमजोर देखिएको आरोप लगाउँदै मुख्यमन्त्री कार्कीले अहिलेको गठबन्धनको बचाउ गरेका थिए । 

‘कांग्रेस र एमालेको गठबन्धन लोकतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि भएको हो’, कार्कीको भनाइ थियो ‘२०४७ मा किसुनजीको नेतृत्वमा सरकार बन्दा होस्, राजा ज्ञानेन्द्रले सत्ता खोस्दा होस् कांग्रेस एमालेकै सहकार्यले लोकतन्त्र ट्रयाकभित्र आएको छ ।’ 

मुख्यमन्त्री कार्कीले कांग्रेस एमालेको एक वर्षे सत्ता सहयात्राले पनि मुलुकलाई ट्रयाकमा ल्याइरहेको दाबी पेश गरेका थिए । 

‘राजस्व वृद्धि भइरहेको छ, निर्यात व्यापार ८३ प्रतिशत पुगेको छ’, ट्रयाकमा आइरहेको प्रमाणका रूपमा कार्कीले अघि सारेको तर्क थियो ‘मुलुक सकारात्मक बाटोमा छ । यो बीचमा के चाहिं असफल भएको हो ?’

उनले सरकारले राम्रो काम गरिरहेको तर  मिडिया र सामाजिक सञ्जाल नियन्त्रण गर्न नसकिएको भन्दै थपे ‘मिडिया र सामाजिक सञ्जाल  नियमन नभएकाले नकारात्मक भाष्य स्थापना भएको छ ।’ 

कांग्रेस र एमालेको दाँजोमा अहिले खुलेका कुनै पनि नयाँ दल पुग्नै नसक्ने ठोकुवा पनि मुख्यमन्त्रीले गरेका थिए । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य गोपी अछामीले पछिल्लो समय नेताहरू एकअर्कालाई नंग्याउन लागिपरेको आरोप लगाए । 

‘एउटाले अर्कोलाई नग्याउँदै जाँदा सबै नांगिएका छन्’ अछामीको भनाइ थियो ‘अहिले संघीयताको मर्म अनुसार जातीय, क्षेत्रीय, लैगिंक मुद्दा र अधिकारहरू प्रदान भएन । त्यसैले समस्या ल्याएको छ ।’ 

अछामीले पनि समाजमा नकारात्मक विषयले प्रधानता पाइरहेको भन्दै असन्तोष प्रकट गरेका थिए । 

नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाले प्राध्यापक पोखरेलको भनाइको प्रतिवाद गरेनन् । 

राजा जन्मिँदा, बाँच्दा र मरेपछि राजै रहने तर जनताका छोराछोरी राष्ट्रपति नै भए पनि कार्यकाल सकिएपछि जनता नै बन्ने भन्दै विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिएका थिए । 

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले संघीयताको मूल मर्म अनुसार मुलुक अघि नबढेकै कारण निराशा छाएको बताए । 

‘तर, के अहिले भनिए जस्तै सबै नराम्रै मात्रै भयो त ?’, आफ्नै प्रश्नको आफै उत्तर दिंदै पराजुलीले भने ‘त्यस्तो पनि होइन, असाध्यै राम्रो केही भएन होला । तर, धेरै नराम्रो पनि भएको छैन ।’ 

पराजुलीले प्रदेशले एकल अधिकार प्रयोग गर्न नपाएको, केन्द्रीकृत मानसिकता केन्द्रमा व्याप्त रहेकाले समस्या आएको तर्क गरेका थिए । 

विराटनगर महानगरका मेयर नागेश कोइरालाले खुला सीमा समस्याको मुख्य कारण भएको बताउँदै भने ‘भारतीय बजारमा सस्तो सामान पाइँदा नेपालमा महंगो पर्छ । अनि उपभोक्ता किन यता खरीदारी गर्छ । त्यसैले सरकारले नीति नै परिवर्तन गर्नुपर्छ ।’

मुलुकमा आर्थिक क्रान्ति जरूरी रहेको भन्दै अहिलेको गठबन्धन सरकारले एक वर्षमा राम्रो सेवा दिइरहेको दाबी गरे ।

जनता समाजवादी नेपालका केन्द्रीय सदस्य सञ्जय सिंहले संघीयता नै नरूचाउने नेताहरूको हातमा शासन सत्ता भएकाले संघीयताले सही कार्यान्वयन नपाएको भन्दै थपे ‘मन नपरेको पाहुना घरमा आउँदा मिठो पकाएर कसैले दिंदैन । अहिले त्यस्तै भएको छ । अन्यथा दुनियाँमा जति मुलुक समृद्ध भए सबैतिर संघीयताकै कारण भएको प्रमाण छ । संघीयता अपरिहार्य व्यवस्था हो । नेतृत्व सही नहुँदा यसले गाली खाइरहेको छ ।’ 

संविधानसभा सदस्य एवम् उद्योगी पवनकुमार सारडाले करको बोझ मात्रै थपिरहेका स्थानीय सरकारले सुविधा पनि दिनुपर्ने जिम्मेवारी नबुझेको भन्दै आलोचना गरेका थिए ।

सौगात प्रकाशन प्रालिका अध्यक्ष एवम् उद्घोषका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक बन्धु पोखरेलले गरेका थिए ।

View : 712

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved