Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

थापामाथिको कारवाही एमालेको आन्तरिक लोकतान्त्रिक विधिकै मजाक

एक एमाले कार्यकर्ताले थापामाथिको कारवाही प्रकरणमा मुख्यतः चार जना जिम्मेवार रहेको दावी गरेका छन् । उनका अनुसार यस मामिलामा खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले थापामाथि कारवाहीको पत्र लेख्नुपर्छ भनेर पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीमाथि सुरुबाटै दबाब बढाएका थिए ।
उद्घोष सम्वाददाता
४ भदौ २०८१, मङ्गलवार

विराटनगर । नेकपा एमाले महानगर कमिटी अध्यक्ष सागर थापामाथिको कारवाही र अनुमोदन योजनावद्ध ढंगले गरिएको थापा पक्षीय कार्यकर्ताहरूले बताएका छन् । उनीहरूले केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिको योजनामा थापामाथिको कारवाहीको सिलसिला तयार पारिएको दावी गरेका छन् ।

‘सागर थापामाथिको कारवाही केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिको स्वार्थबाट प्रेरित भई गरिएको हो’ थापा निकट एक एमाले कार्यकर्ताले आक्रोशित हुँदै भने, ‘क–कसले के कस्तो मिलिभगत गरे, तिनको हिसाबकिताब राख्न हामीले पनि जानेका छौं ।’

एक एमाले कार्यकर्ताले थापामाथिको कारवाही प्रकरणमा मुख्यतः चार जना जिम्मेवार रहेको दावी गरेका छन् । उनका अनुसार यस मामिलामा खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले थापामाथि कारवाहीको पत्र लेख्नुपर्छ भनेर पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीमाथि सुरुबाटै दबाब बढाएका थिए ।

यो प्रकरणमा पार्टीका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले आफ्ना प्रतिष्पर्धी विनोद ढकाललाई शक्तिहीन तुल्याउन एकाध कार्यकर्ताको बलिदानीले खासै फरक नपर्ने बताएर कारवाही पक्षधरलाई उत्साहित बनाए भने पार्टी केन्द्रीय कमिटी सदस्य जीवन घिमिरेले कुनै बेलाको एउटै गुटको मल्लयुद्धलाई नतिजान्मुख बनाउन परोक्ष भूमिका खेलेको थापा निकट कार्यकर्ताको आरोप छ । घिमिरे पछिल्लो समय पार्टीका मोरङ जिल्ला इञ्चार्ज पनि तोकिएका छन् ।

घिमिरेअघिका जिल्ला इञ्चार्ज तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि थापामाथिको कारवाही प्रकरणका एक मुख्य पात्र भएको उनीहरूको बुझाइ छ । यद्यपि मुख्यमन्त्री कार्की यस मामिलामा साखुल्ले हुँदै आएको बुझिएको छ । स्रोतका अनुसार, कार्कीले थापामाथिको कारवाही जिल्ला कमिटीमै सीमित गर्ने आश्वासन दिएका थिए । तर उनले आश्वासन दिएमुताबिक थापामाथिको कारवाहीमा हात हाल्न चाहेनन् ।

कुनै बेला महेन्द्र मोरङ क्याम्पसको दुई/दुई पटक स्ववियू सभापति भएका थापामाथि सामन्य विषयमा निर्मम कारवाही हुनुमा एमालेको प्रदेश कमिटीभिक्रको शत्ति–संघर्ष भएको बुझिएको छ । पछिल्लो समयमा मोरङका विनोद ढकाललाई शक्तिहीन पार्न उनका कोर टिमका व्यक्तिलाई छानीछानी तारो बनाइएको ढकाल पक्षीय कार्यकर्ताको गुनासो गर्छन् ।

खानेपानी उपभोक्तजस्तो एउटा गैरजनप्रतिनिधिमूलक संस्थाको निर्वाचनको निहुँ बनाएर गरिएको कारवाहीले पार्टीको लोकतान्त्रिक प्रणालीमै प्रश्न उठेको उनीहरूको बुझाइ छ । एक राजनीतिक विश्लेषक जनप्रतिनिधिमुलकबाहेकका संस्थामा आफूले इच्छाएको व्यक्तिलाई भोट हाल्न पाउनुपर्ने अधिकारको संरक्षण र वातावरण स्वयं राजनीतिक दलले बनाउनुपर्नेमा विराटनगरमा उल्टो काम गरिएको बताउँछन् ।

‘संस्थाको हित कसले गर्छ त्यो त्यहीँको उपभोक्ताको चुन्न र चुनिने पाउने अधिकारभित्रको कुरा हो, यस्ता संस्थामा पार्टीको उम्मेदवार भनेर कहाँ लेखिएको हुन्छ ? अनि दल र चुनाव चिह्न पनि नभएको निर्वाचनमा दलको उम्मेदवारलाई सहयोग गरेन भनेर कारवाही गर्न मिल्छ ? यो दुनियाँ हँसाउने काम हो’ उनले भने ।

एमाले जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थाको निर्वाचनमा जिल्ला कमिटीले भनेको उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लागेको भन्दै २०८१ जेठ ३१ मा थापासहित तीन जनालाई कारवाही गर्ने निर्णय गरेको पत्र थमाएका थिए ।

उक्त पत्रलाई एमाले कोशी प्रदेश कमिटीको शनिबार बसेको चौथो पूर्ण बैठकले गरेको अनुमोदन गरेको छ ।

एमाले जिल्ला कमिटी मोरङले अध्यक्ष थापासहित उपसचिव नवराज नेपाल र वडा नं. ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट निस्कासन गरेको थियो । उक्त निर्णयलाई प्रदेश कमिटीको बैठकले अनुमोदन गरेपछि अहिले पार्टीको तल्लो फंक्ति निकै आत्रोशित छ ।

View : 150

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved