Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

ऋण नतिर्नेको जग्गा रोक्दै सहकारी

उद्घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

विराटनगर । ब्यवस्थापकले रकम हिनामिना गर्दा भएको दुई करोड रूपैयाँ बराबरको आर्थिक क्षतिका कारण समस्यामा परेको  सहकारीले संस्था चलायमान राख्न नयाँ र कठोर उपाय लगाएको छ । मोरङ कटहरी–२ को नवआदर्श सहकारीको शनिबार सम्पन्न १९ औं साधारणसभाले ऋण नतिर्नेको जग्गा रोक्का गर्ने निर्णय गरेको छ ।

तत्कालीन ब्यवस्थापक उमेशकुमार मण्डल आर्थिक अनियमितताको आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि सर्वसाधारणको वचत फिर्ता गर्न सहकारीलाई समस्या भएपछि ऋणीलाई कडाई गर्ने तयारीमा सो सहकारी लागेको हो ।

मण्डल एक्लैले बचतकर्ताको सवा करोड रूपैयाँ चलाएपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सहकारीका ब्यवस्थापक किशोरकुमार पाण्डेका अनुसार गएका वर्षहरु भन्दा फरक किसिमको समिति निर्माण गरेर डुबेको ऋण असुलीमा कडाई गर्न लागिएको छ । यसअघि सो सहकारीले कुनैपनि ऋणीको जग्गा रोक्का गर्नुपर्ने अवस्था आएको थिएन ।

सहकारीलाई ब्यवस्थित गर्न उपसमितिको जिम्मेवारीपनि पदाधिकारीलाई नै दिइएको उनले बताए । किशोरकुमार भट्टराईको अध्यक्षतामा बनेको नयाँ समितिमा उपाध्यक्ष सञ्जय मण्डल, सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष यामप्रसाद सुबेदी छन् । सचिव श्रेष्ठलाई उपसमितिको संयोजक बनाइएको छ । हालसम्मको समितिमा उपाध्यक्ष पदमा रहेका सुबेदी लगानी र असुलीमा कडाई गर्न कोषाध्यक्ष पदमा बसेका छन् ।

केही वर्षअघि सो सहकारीले खराब ऋण असुलीका लागि मौन धर्ना कार्यक्रम सञ्चालन गरेको थियो । ऋणीको घरमै गएर आँगनमा ब्यानर राखेर धर्ना दिइएको थियो । ऋण नतिरेसम्म धर्ना राखेर ऋणीलाई दवाव दिइएको थियो । यस पटक भने ऋणीको अचल सम्पत्ति रोक्का गर्न मालपोत कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष भट्टराईले बताए । 

तत्कालीन ब्यवस्थापक मण्डलले बचत तथा ऋणको सम्पूर्ण जिम्मेवारी लिएर एकलौटी कारोबार गर्दै १ करोड १५ लाख, ८७ हजार रूपैयाँ हिनामिना गरेको छानविन समितिको प्रतिवेदनले देखाएको छ । मण्डलले सहकारीका सञ्चालकले गर्ने नक्कली निर्णय गरेर ऋण लगानी, बचत, सेयर फिर्ता जस्ता गतिविधि गरेका थिए । 

मण्डलले कानुनी छिद्रको प्रयोग गर्दै कारागार भित्रैबाट सहकारी सञ्चालक विरुद्ध आफूले नभई सञ्चालकहरुले रकम हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी नलिएपछि उनले उच्च अदालतबाटै आदेश गराएका छन् । मण्डलले यतिका मानिससँग रकम संकलन गरेर चलाएका छन् कि त्यसको ब्ययभार सञ्चालकको काँधमा आएको छ ।

सञ्चालकले घर बैंकमा राखी ऋण लिएर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्दै आएका छन् । सचिव श्रेष्ठले बैंकबाट ऋण लिएर सहकारीका बचतकर्ताको रकम फिर्ता गरेका छन् । सहकारीबाट रकम हिनामिना गर्ने मण्डलले भने तीन वर्षमा तीन ठाउँमा जमिन र एक घर जोडेको पाइएको छ । सहकारीको आग्रहमा उनको अचल सम्पत्ति मालपोत कार्यालय मार्फत रोक्का गरिएको छ ।

View : 194

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved