विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले दुईतिहाइ बहुमतको सरकार गठन भएपछि निजी क्षेत्र निकै उत्साहित भए पनि अहिले निरुत्साहित हुन थालेको बताएका छन् ।
धनकुटा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राउतले निजी क्षेत्र निरुत्साहित हुँदा समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्न सक्ने बताए ।
‘विश्व अर्थतन्त्रमा आएको मन्दी, महँगीलगायतका कारणहरूको असर नेपालमा पनि परिरहेको छ, जसका कारण सर्वसाधारणमा समेत नैराश्यता छाएको छ,’ उनले भने, ‘बैंकमा पर्याप्त पुँजी थुप्रिएर बसेको छ, तर लगानीको अनुकूल वातावरण बन्न सकिरहेको छैन । दुईतिहाइको सरकार बनेपछि निजी क्षेत्र निकै उत्साहित र आशावादी भएको थियो, तर अहिले निरुत्साहित हुन थालेको छ ।’
उनले साना तथा मझौला व्यवसायीहरूले विभिन्न समस्या भोगिरहेको, बजारमा सुस्तता छाएको र युवा पलायन बढिरहेको उल्लेख गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्नुबाहेक अर्को विकल्प नरहेको बताए ।
धनकुटामा कृषि, पर्यटन तथा जडीबुटी प्रशोधन उद्योगको सम्भावना असीमित रहेको उल्लेख गर्दै उनले धनकुटालाई सुन्तला, एभोकाडो, चिया, कफी र अदुवा उत्पादनका लागि कोशी प्रदेशकै ‘हब’ बनाउन सकिने बताए ।
अध्यक्ष राउतले जोगबनी नाकाबाट निजी क्षेत्रले रेल कार्गोमार्फत सामान आयात–निर्यात गर्ने सुविधा माग गर्दै आएकोमा अब उक्त सेवा सुरु भइसकेको जानकारी पनि दिए ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघ कोशी प्रदेशका सदस्यहरू, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved