Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटो)

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । सूर्य उपासनाको पर्व छठको अवसरमा बिहीबार विराटनगरका नदी, नहर र तलाउ किनारमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

सूर्य अस्ताउनुपूर्व नै नदी, नहर र तलाउ किनारका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

विराटनगरको पूर्व र पश्चिमतर्फ बग्दै आएका सिंघिया, केशलिया र बूढी खोला तथा मोरङ–सुनसरी सिंचाइ आयोजनाको नहर किनारमा बनाइएका घाटमा छठका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाएका छन् । 

हिन्दु धर्मावलम्बीहरूले सूर्यलाई अर्घ्य दिएर सूर्यको स्तुति गर्नाले चिताएको मनोकामना पूरा हुने विश्वास गर्दछन् । सोही विश्वासमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । 

उनीहरूले ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवा, केरा, जट्टा सहितको नरिवलसहितका सामग्री सूर्यलाई अर्घ्य सँगै चढाएका छन् ।

बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएपछि अधिकांश श्रद्धालुहरू घाटमै जाग्राम पनि बस्ने गर्दछन् ।

बुधबार पञ्चमी तिथिमा भक्तालुहरूले ‘खरना’ व्रत लिएका थिए । खरना समाप्तिपछि व्रतालुहरूले नुहाई धुवाई गरेर चोखो भएर घरको नयाँ चुल्होमा पकाइएको खीरलाई प्रसादका रूपमा प्रयोग गरेका छन् । 

कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने गर्दछ । भोलि बिहानै भक्तालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतसँगै छठ पर्वको समापन गर्दछन् ।

मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिकै उल्लासका साथ मनाउन थालिएको छ ।

तराईमा मैथिली भाषीसहित सबै समुदायले श्रद्धाका साथ छठ पर्वलाई अझ उमंगका साथ मनाउने प्रचलन बढेर गएको छ ।

View : 5720

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved