Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

अग्रज साहित्यकार सुवेदीको निधन

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको बुधबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बिहान ३ बजे विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

विराटनगरमा बसेर साहित्य सिर्जनामा उल्लेखनीय योगदान पुर्याउँदै आएका सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रा लगायतका दर्जन बढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूको समालोचनासमेत गरेका छन् ।

नेपाली भाषा र साहित्यको जगेर्नामा महत्वपूर्ण योगदान दिएका सुवेदी विराटनगरलाई नै आफ्नो कर्मक्षेक्र बनाएर साहित्य सिर्जनामा सत्रिय रहँदै आएका थिए । 

स्वर्गीय सुवेदी साहित्यमा विराटनगरलाई नै आधार क्षेत्र बनाउने कर्मशील साहित्यानुरागी हुन् । उनले विराटनगरको इतिहासलाई पुस्तकको रुप दिएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई प्रोत्साहनका लागि सुवेदीले आफ्नो जीवनकालमै पुरस्कार कोष स्थापना गरेर बर्षेनी पुरस्कृत गर्दै आएका थिए । 

सुवेदीले पञ्चायतकालमा नगर पञ्चायत बहिदार पदमा काम गर्दै जागिरे जीवन सुरु गरेका थिए । जागिरे जीवनपश्चात उनले विराटनगरको आदर्श रात्री विद्यालय र कन्या क्याम्पसमा समेत केही वर्ष पढाएका थिए । 

उनले पूर्वाञ्चल विश्वविद्यालयमा समेत सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरेका थिए ।

सुवेदीकै सम्पादनमा नेता बीपी कोइरालाको प्रेरणाबाट ‘बरगाछी’ नामक पुस्तक प्रकाशन सुरु गरेका थिए । त्यो अहिलेपनि प्रकाशित हुँदै आएको छ । आफ्नो जीवनको उत्तरार्द्धमा सम्पूर्ण समय साहित्य लेखनमा समर्पित गरेका सुवेदी विराटनगरको साहित्यिक भूमिमा अटुट छाप बनाएर अस्ताएका छन् । 

 उनको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले पनि दुख व्यक्त गरेको सुवेदीका जेष्ठ सुपुत्र शरदराज सुवेदीले बताए ।

विराटनगरबाटै एउटा सामाजिक र साहित्यिक व्यक्तिलाई सदाका लागि गुमाउनु निकै पीडादायी भएको भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेले बताए । उनले साहित्यिक सिर्जना र समालोचना क्षेत्रमा सुवेदीको योगदान उल्लेखनीय रहेको बताए । सुवेदीले विभिन्न साहित्यिक संस्था खोल्न समेत उत्प्रेरित गर्ने गरेको न्यौपानेले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगरका अग्रज विद्वान व्यक्तित्व एवं साहित्यकार दधिराज सुवेदीको निधनले स्तब्ध र दुःखी बनाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुवेदीको निधनबाट विराटनगर र सिंगो साहित्य क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । स्व. दधिराज सुवेदीप्रति भावपुर्ण श्रद्धाञ्जली र समस्त सुवेदी परिवारमा हार्दिक समवेदना ।’

स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई बुधबार धार्मिक परम्परा अनुसार परोपकार घाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय अमृत अर्याल, भीम पराजुली, विराटनगर महानगरपालिकाकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतले सुवेदीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए । अन्त्येष्टिमा साहित्यकार, राजनितिक, व्यावसायिक, सामाजिकक्षेत्रका धेरै मानिसहरु सहभागी भएका थिए । 

२००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका स्वर्गीय सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

View : 392

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved