Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ ४ का दुई घिमिरेको चुनावी चर्चा

उद्‌घोष संवाददाता
७ माघ २०८२, बुधवार

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा दुई घिमिरे चर्चामा छन् । नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री गुरुराज घिमिरे र नेपपा एमालेमा तीन पटक केन्द्रीय सदस्य भैसकेका जीवन घिमिरे । तीन पटक सांसद भैसकेका नेपाली कम्युनिष्ट पार्टीका नेता अमनलाल मोदीसँग दुई घिमिरेको भिडन्त हुने भएपछि सो क्षेत्रमा कस्ले बाजी मार्ने हो भने अडकलबाजी पनि शुरु भइसकेको छ । 

मंगलबार यी तीनै जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका महामन्त्री घिमिरेले भने प्रतिनिधि पठाएर उम्मेदवारी दर्ता गराए । उनको उम्मेदवारी दर्ता गर्न कोशी प्रदेशका मन्त्री भीम पराजुलीलगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

दुवै घिमिरे २०७९ को निर्वाचनमा प्रदेशसभामा सोही क्षेत्रको (क) र (ख) बाट पराजित भएका उम्मेदवार हुन् । जीवन घिमिरे २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएर सामाजिक विकास मन्त्री भएका बेला धेरै राम्रा कामहरु गरेकाले सो क्षेत्रमा मतदाताले रुचाएका ब्यक्ति हुन् । 

घिमिरेले फरक लाइनबाट राजनीति गर्दै आए पनि पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीको लाइनमा नजिक भएर प्रतिनिधिसभामा टिकट पाएका हुन् ।

२०७९ को निर्वाचनमा उनलाई ओलीले टिकट दिएका थिएनन् । स्थानीय नेता कार्यकर्ताको विरोध भएपछि उम्मेदवारी दर्ताको समय सुरु हुने बेलामा मात्रै प्रदेशसभामा उनले टिकट पाएका थिए । 

नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएर पार्टी राजनीतिमा लागेका गुरुराज पनि पार्टीमा ओझेलमा पर्दै आएका थिए । उनी नेविसंघको सभापति हुँदा अहिलेका कांग्रेस सभापति  गगन थापा नेविसंघका महामन्त्री थिए ।

नेपाली कांग्रेसमा विद्रोह गर्दै थापा पार्टी सभापति हुँदा घिमिरे महामन्त्रीमा निर्वाचित हुँदै प्रतिनिधिसभाको उम्मेदवार पनि बनेका छन् । कुनै बेला कम उमेरमा सांसद र मन्त्री बनेका मोदी गरिव परिवारको सदस्य भएकाले पनि यसअघि पटक–पटक जनताको मत पाउँदै आएका छन् । 

यसअघिका निर्वाचनमा मोदीले एक पटक कांग्रेस नेता महेश आचार्य र अर्को पटक एमाले नेता विनोद ढकाललाई पराजित गरेका थिए ।

View : 229

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved