विराटनगर । विराटनगरको ऐतिहासिक घर जहाँबाट निरंकुश जहानिया राणा शासनको अन्त्यको विगुल फुकिएको थियो । सन् १९५० (वि.सं. २००७ साल) दिसम्बर १० तारिखका दिन नेपाली कांग्रेसको मुक्तिसेनाले आक्रमण गरी तत्कालीन राणा बडाहाकिम उत्तम विक्रमलाई आत्मसमर्पण गर्न बाध्य तुल्याएको थियो ।
मुक्ति सेनाले १४ दिनसम्म घेरा हाली राणा बडाहाकिम उत्तम विक्रमलाई आत्मसमर्पण गर्न बाध्य तुल्याएको थियो । त्यही पुरानो घर भत्काउने तयारी गरिदैंछ ।
राणा शासनको पतनपछि प्रजातान्त्रिक सरकारका पालामा सो भवनलाई वडाहाकिमको आवास बनाइएको थियो । पञ्चायतकालमा सो भवनमा अञ्चलाधीश बस्थे ।
वि.सं. २०४६ सालको जनआन्दोलनको सफलता पछि सो भवनलाई प्रमुख जिल्ला अधिकारीको आवास बनाइयो । अहिले त्यही भवनलाई भत्काउन लागिएको हो ।
रामहरि जोशीद्वारा लिलित ‘नेपालको नोभेम्वर क्रान्ति’ नामक पुस्तकमा उल्लेख भए अनुसार २००७ सालको सशस्त्र क्रान्तिको बेला विराटनगरको वडाहाकिम आवासमा पहिलो पटक १२ नोभेम्वरमा मुक्ति सेनाले आक्रमण गरेको थियो । त्यसमा मुक्ति सेनाले सफलता पाउन सकेन ।
सो आक्रमणमा तुलाराम भन्ने व्यक्तिलाई वडाहाकिमका सुरक्षाकर्मीले चलाएको बन्दुकको गोली लागेर मुत्यु भयो । दोस्रो पटकको आक्रमणमा मुक्ति सेनाले सफलता पाए पनि मुक्ति सेनाका बलबहादुर र वडाहाकिम उत्तम विक्रमका कान्छा छोरा सुदर्शन विक्रमको मुक्ति सेनाको गोली लागेर मृत्यु भएको थियो ।
दोस्रो पटकको आक्रमणबाट विराटनगर जुट मिलको वर्कशपमा एउटा ट्याक्टरको स्वरुप विगारेर ट्यांक बनाइएको थियो । वडाहाकिमको निवासमा पछिल्लो पटक आक्रमण गर्दा त्यही ट्यांकलाई प्रयोग गरिएको थियो । उक्त ऐतिहासिक भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गरेर प्रमुख जिल्ला अधिकारीको आवास नयाँ भवनमा सारिएको छ । पुरानो भवनलाई भने भत्काउन लागिएको हो ।
View : 459
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved