पर्यटन प्रवर्द्धन
पर्यटकीय नाम्जे गाउँ । तस्वीर : उद्घोष
नाम्जे । धनकुटा साँघुरीगढी गाउँपालिका–६ नाम्जेकी ४१ वर्षीया दिलमाया मगरलाई विगत सम्झ्यो कि अभाव र कष्टमा बितेका कहालीलाग्दा दिनका पीडाले चिमोट्छन् । अभावको भुंग्रोमा दुःखै–दुःखको भारीले थिचेका ती दिनले उनको सपना अहिले पनि बिथोल्न खोज्छन् । केही नहुनुको पीडाले सधैं पिरोल्ने ती दिनले अहिले पनि ऐठन पार्न खोज्छन् ।
अभाव, दुःख अनि त्यसले दिइरहने तनावको भारीले थिचिएर धेरैपटक दिलमायाले नाम्जेको उकाली ओराली गरिसकेकी छन् । भएको थोरै क्षेत्रफलको खेतबारीमा दिनभरी घोटिंदा पनि परिवारको गर्जो टार्नै मुश्किल भएपछि मजदुरीका लागि घरबाहिर निस्कनु पर्थ्यो । भोकतिर्खा नभनी पसिना चुहाउनु पर्थ्यो । दोजिया हुँदा होस् कि ज्वरो आउँदा ज्यामी काम गर्न घरबाट ननिस्के छोराछोरीको मुखमा माड लगाउन हम्मे पर्थ्यो ।
‘दश नङ्ग्रा खियाउँदा पनि वर्षभरी खान पुर्याउनै टुमटुम हुन्थ्यो’ शनिबार बिहान नाम्जेस्थित घरमा उद्घोषसँग उनी भन्दै थिइन् ‘अहिले त त्यो हेरेर कता हो कता सुख छ नि ! कम्तीमा भरे के खाने, भोलिको छाक कसरी टार्ने, छोराछोरी पढाउन कसो गर्ने चिन्ता त छैन ।’
दुई छोराछोरीकी आमा उनले विष्मयकारी विगत बिर्सेर आत्मविश्वासी आवाजमा वर्तमानको अवस्था पनि दुई हरफमा सुनाइन् ‘अहिले त मन लागेको कुरा लगाउन पाउँछुम्, जान मन लागेको ठाउँमा पुग्न खर्च छैन भनेर पिरोलिनु पर्दैन ।’ यति भनेर उनले खित्का छाडिन् । नजिकै बसेर कुरा सुनिरहेका उनका पति दिलकुमार पनि मुसुक्क मुस्कुराए ।
मगर दम्पतीको अनुहारमा यस्तो खुसी छचल्किन थालेको जम्माजम्मी एक दशक पूरा हुँदैछ । त्यसअघिका दिन उनीहरू सम्झन पनि चाहँदैनन् । उनीहरूको यो खुसीका पछि एउटा यस्तो उद्यमको हात छ, जहाँ उनीहरू सेवा दिन्छन्, त्यसवापत आम्दानी हुन्छ । त्यही सेवा दिएवापत प्राप्त हुने आम्दानीले उनीहरूको जीवनमा आर्थिक रूपान्तरण सम्भव भएको हो । १०–११ वर्षयता नाम्जेमा होमस्टे (घरबास) व्यवसाय चलाइरहेका उनीहरू अहिले वर्षभरीजसो व्यस्त रहन्छन् । त्यो व्यस्तताले आयस्ता बढाउँदै लगेको छ । बढेको आयस्ताले जीवन सहज र खुसी तुल्याइरहेको छ ।
‘म मात्रै होइन मेरो श्रीमान पनि दिनभरी ढुंगा बोक्ने, खेत खन्ने काम गर्नुहुन्थ्यो’, दिलमायाले दिलै खोलेर कुरा गरिन् ‘दुई जना त्यसरी दिनरात नभनी काम गर्दा पनि केही भएन । उहाँ विदेश जानुभयो । त्यहाँ पनि कम्पनीले ठगेपछि गाउँ नै फर्कनुभयो । त्यतिबेला गाउँमा भर्खरै होमस्टे सुरू हुँदै थियो । हामीले पनि सुरू गर्यौं । त्यसपछि पाहुना आउन थाले । आम्दानी हुन थाल्यो । आज एकदमै सन्तुष्ट हुने ठाउँमा आइपुगेका छौं ।’
उनीहरू मात्रै होइन साँघुरीगढीका थुम्की, नाम्जे क्षेत्रमा अहिले सञ्चालनमा रहेका डेढ दर्जनभन्दा बढी होमस्टेका सञ्चालकहरू सबैको विगत उस्तै थियो । यहाँका बहुसंख्यक होमस्टे सञ्चालकहरू मगर समुदायका छन् । खुला दिलका धनी उनीहरूले घरमा बास बस्न आउने पाहुनालाई हृदय बिछ्याएर गर्ने स्वागत अनि स्थानीय स्वादका विभिन्न खाद्य परिकारले गर्ने सत्कारकै कारण होमस्टेहरूमा बाह्रैमास पाहुनाको लर्को लागिरहन्छ ।
विराटनगरका सोम अधिकारी नाम्जेमा घुम्न, बास बस्न मन पराउने एक जना आन्तरिक पर्यटक हुन् । नेपाली अर्थतन्त्रका अध्येता अधिकारीका दृष्टिमा पछिल्लो एक दशकमा नाम्जेका स्थानीयबासी मात्रै नभइ सिंगो गाउँकै मुहार फेरिएको छ ।
‘यसको एउटै मात्रै मुख्य कारण बाह्रैमास भइरहने पर्यटकको बाक्लो आउजाउ र त्यहाँ फस्टाएको होमस्टे व्यवसाय नै हो’, अधिकारीले भने ‘ नाम्जे आफैमा सुन्दर प्राकृतिक थलो हो । त्यसमाथि स्थानीयबासीले होमस्टेमा दिने आत्मीय सेवा र सत्कार त्यहाँको विशेषता भइसकेको छ । गाउँलेको त्यही सेवा नै उनीहरू र गाउँको रूपान्तरणको मुख्य आधार बनेको हो ।’
अधिकारीले भने जस्तै पछिल्लो केही वर्षयता भेडेटार, थुम्की र नाम्जे पुग्ने बहुसंख्यक पर्यटकको पहिलो रोजाइमा होमस्टे पर्छन् । होमस्टे नपाए मात्रै होटलतिर बास बस्न जाने चलन बढेको छ । अधिकारीका भनाइमा यसका केही ठोस कारण छन् ।
‘पहिलो कुरा त होटलमा भन्दा होमस्टेमा पारिवारिक वातावरण पाइन्छ’, उनले थपे ‘सागसब्जी सबै रैथाने उत्पादन खान पाइन्छ । समूहमा जाँदा होटलतिर गए हरेक व्यक्तिका निम्ति फरक कोठा खोज्नुपर्छ । होमस्टेमा एउटै कोठामा धेरै जना बास बस्न सकिने अवस्था हुन्छ । परिवारसहित गए त्यसका लागि अलग्गै व्यवस्था पनि हुन्छ । घरका मान्छे आफै खटिएर पाहुनालाई खाने–बस्ने प्रबन्ध गर्ने होमस्टे होटलभन्दा तुलनात्मक रूपमा सस्तो पनि पर्छ ।’
पर्यटकहरूको बाक्लो आउजाउकै कारण गाउँमा सुविधा पनि थपिंदो छ । विद्युत, बाटो, इन्टरनेट, खानेपानी लगायतका सुविधा थपिएपछि गाउँ झनै सुलभ बन्दै गएको छ । यसले स्थानीयबासीको अवस्थामा आमूल सुधार ल्याएको उनीहरू स्वयम् बताउँछन् । नाम्जेमा रहेको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भूजेलले दिएको जानकारी अनुसार नाम्जे २०५९ पछि क्रमशः फेरिन थालेको हो ।
‘त्यसबेलासम्म गाउँका ७० प्रतिशत मानिस ज्यादै गरिब थिए ।जग्गाजमिन खरीदबिक्री हुँदैनथ्यो । भए पनि कौडीको भाउमा हुन्थ्यो’, उनले सुनाए ‘४० को दशकको अन्त्यतिर मैले नै यहाँको चारआना जमिन ३५ सयमा किनेको हुँ । अहिले यत्ति नै जमिनलाई यहाँ कम्तीमा एक करोड पर्छ ।’
पूर्वकै आकर्षक पर्यटकीय गन्तव्य बनेर चम्किएको नाम्जेलाई अहिलेको आकार दिनमा भारतीय मूलका अमेरिकी नागरिक आर्किटेक्ट इञ्जीनियर राजीवकुमार गोयलको प्रेरणाले मुख्य काम गरेको स्थानीयबासी बताउँछन् । स्थानीय विद्यालयमा अंग्रेजी शिक्षक बनेर २०५९ मा नाम्जे आइपुगेका गोयलले गाउँमा खानेपानी ल्याउन देश विदेशबाट सहयोग जुटाए । गाउँलेले वर्ष दिनसम्म श्रमदान गरे । जब गाउँमा खानेपानी आइपुग्यो उनले होमस्टे चलाउने जुक्ति पनि गाउँलेलाई सिकाए ।
स्थानीयवासीका अनुसार गोयलले त्यसबेला नाम्जेको मौसमी वातावरणलाई मुख्य हतियार बनाउन सकिने उपाय सुझाएका थिए । ‘यहाँ एकैदिनमा धेरैथरी मौसमी परिवर्तन देख्न पाइन्छ, संसारकै सबैभन्दा निस्वार्थी मगर जाति र उनीहरूको संस्कृति छ । ताजा तरकारी यहाँ फल्छ। वरिपरिको दृश्य पनि रमणीय छ’, गोयललाई उद्धृत गर्दै नीलकुमारी मगरले भनिन् ‘यही वातावरणमा रमाउन बाहिरका मान्छे आउनेछन् । आम्दानी हुनेछ ।’
गाउँमा खानेपानी ल्याएका गोयलको कुरा मानेर गाउँलेले सहमति जनाए । उनले आफ्ना सम्पर्कका मान्छेहरूलाईै नाम्जे बोलाउन थाले । मान्छेहरू धेरै संख्यामा आउन थाले । गाउँमा एक दिन अमेरिकी नागरिकको हुल आइपुग्यो ।
टोलीमा अमेरिकी प्रसिद्ध सञ्चार संस्था ‘सीएनएन’का पत्रकार पनि थिए । उनीहरू फर्केर गएपछि नाम्जेलाई संसारकै घुम्नलायक १२ गन्तव्यमध्ये आठौं स्थानको भनेर समाचार बनाइदिए ।
‘त्यसपछि त यहाँ आउने मान्छेको ओइरो लाग्यो’, प्रधानाध्यापक भूजेलले भने ‘चर्चा पनि चुलियो । मान्छे पनि आउन थाले । होमस्टे त्यहीबेलादेखि जम्न थाले । अहिले धेरै सुधार र विकास भइसकेको छ ।’
होमस्टे चल्न थालेपछि त्यसका सञ्चालक मात्रै होइन, त्यसबाहेक अरू धेरै गाउँले पनि लाभान्वित बनेका छन् । होटल र होमस्टे नगर्ने ५० हाराहारी परिवार तरकारी खेती गर्छन् । धेरैले कुखुरा, खसी र सुङ्गुरपालन गर्छन् । कुनैबेला पिठ्युमा भारी कसेर पैदलै धरान पुर्याउनु पर्ने तरकारी अहिले गाउँमै खपत हुन्छ । होमस्टे चलाइरहेकाहरूको अनुभवमा एक रात बास बस्न आइपुग्ने एक जना पाहुनाले कम्तीमा १ हजारदेखि ४ हजारसम्म खर्च गर्छन् ।
नजिकैका डाँडाबजार, ओख्रे, राजारानी क्षेत्रमा उत्पादन हुने इस्कुस, आलु, सागपात जस्ता तरकारी नाम्जे, थुम्की र भेडेटारतिरै खपत हुने गरेको छ । नाम्जे घुम्न र बास बस्न आउने पाहुनाले बसेका बेला त तिनै तरकारी र सागपात खान्छन् नै घर फर्किदा तरकारी किनेर पनि लैजान्छन् । यसले पनि स्थानीयबासीको आम्दानी बढाउन ठूलो टेवा दिएको छ ।
नाम्जे आइपुग्ने पाहुनाले लोकल कुखुराको झोल, तोङ्बा, घरेलु मदिरा, कुखुरा र सुङ्गुरको सेकुवा, सुकुटी बढी रूचाउने अनुभव स्थानीयबासीको छ । त्यसबाहेक यहीं उत्पादित आलु, सागपात, अकबरे खोर्सानी, खान रूचाउनेहरू पनि उत्तिकै हुन्छन् । किनेर घर लैजानेहरूले पनि रैथाने उत्पादन रूचाएको उनीहरू बताउँछन् ।
View : 225
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved