Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमालेको निष्कर्ष :

जेनजी आन्दोलनमा आपराधिक कार्य, संलग्नलाई कारवाहीको माग गर्दै दियो जाहेरी

उद्‌घोष संवाददाता
२१ मंसिर २०८२, आइतवार

विराटनगर । जेनजी समुहको आन्दोलनको नाममा भदौ २४ भएको घटनालाई एमालेले आपराधिक कार्य भएको भन्दै प्रहरीमा जाहेरी दिएको छ । 

नेकपा एमाले मोरङसहित १४ वटा जना जनसंगठनहरूले जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सामुहिक जाहेरी दिएका हुन् ।

एमालेले तोडफोड र आगजनीमा संलग्नहरूको विवरणसहित बुझाएको हो । उनीहरू विरुद्ध कारवाहीको समेत माग गरेको जनाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कवित कटवाललाई जाहेरी बुझाइएको एमाले मोरङका अध्यक्ष अजम्बर राईले बताए । 

एमाले मोरङले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययन गर्न प्रदेश सभा सदस्य उमाकान्त गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिवेदन तयार पारेर संलग्नहरूमाथि कारवाहीको माग गरेको हो । 

एमाले मोरङका सचिव सोमराज थापाले आन्दोलनका नाममा व्यक्तितग सम्पत्ति एवं सार्वजनिक तथा सरकारी सम्पत्ति तोडफोड गर्ने कार्यमा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो र भिडियो सहितको विवरण समावेश गरेर जाहेरी दिएको जानकारी दिए ।

गौतम नेतृत्वको नेतृत्वको कार्यदलले तयार पारेको उक्त प्रतिवदेन एमाले मोरङका अध्यक्ष अजम्बर राई र केन्द्रीय सदस्य एवं मोरङ इञ्चार्ज जीवन घिमिरेलाई संयुक्त रुपमा प्रजिअ कट्टेल र प्रहरी उपरीक्षक कटवाललाई हस्तान्तरण गरिएको हो ।

एमालेको प्रतिवेदनसहितको जाहेरी बुझ्दै प्रहरी प्रमुख कटवालले पनि घटनामा संलग्नहरूलाई कारवाही गरिने बताए । उनले लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले अहिलेपनि पक्राउ गरी कारवाहीको प्रक्रिया ल्याइरहेको जानकारी दिए । साथै, एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने बताए ।

एमाले अध्ययन कार्यदलका संयोजक गौतमले जेनजी अँन्दोलनका कारण मोरङमा पाँच अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए । कार्यदलको सदस्यहरूमा मुकेश बुढाथोकी, भोला अधिकारी, इरान राई र अजिम आलम थिए ।

एमाले केन्द्रीय सदस्य घिमिरेले जनसंगठनहरूका तर्फबाट संयुक्त जाहेरी दिइसकिएकोले घटनामा संलग्नहरूमाथि कारवाहीको माग गर्दै व्यक्तिगत रुपमा पनि जाहेरी दिइने बताए । 

आन्दोलनका क्रममा घिमिरेको घरमा समेत तोडफोड हुनुका साथै आगजनीको प्रयास भएपछि स्थानीयले अवरोध गरेर जोगाएका थिए ।

View : 239

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved