विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी असार १५ गतेभित्र १२ वटा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने तालिका बनाएको छ । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बुधबार प्रतियोगिताको तालिकाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा आयोजना हुने जनाइएको छ । कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शारीरिक सुगठन प्रतियोगिता असार १० देखि १२ गतेसम्म झापामा, भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा आयोजना गर्ने जनाइएको छ ।
बोर्डले मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका ३ वटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता सुनसरीमा गर्ने गरी तालिका तयार पारिएको बस्नेतले बताए । ती प्रतियोगिता सञ्चालनको मिति भने केही दिनभित्रै सार्वजनिक गरिने बताए ।
चालु आर्थिक वर्ष २०८०-८१ को बाँकी कार्यत्रम अन्तरगत प्रदेश खेलकुद विकास बोर्डले खेलकुद गतिविधिलाई तिव्रता दिएको जनाइएको छ । प्रतियोगिता आयोजना गर्दा कोशी प्रदेशका १४ वटै जिल्लाहरूलाई समेटिने सदस्य सचिव बस्नेतले बताए ।
फरक क्षमता भएकाहरूका लागि पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा आयोजना गरिने छ । त्यसैगरी बास्केटबल धरानमा हुने पनि जनाइएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको प्रदेश खेलकुद विकास बोर्डले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि एक करोड छ लाख रुपैयाँ विनियोजन रहेको जनाइएको छ ।
बोर्डले आगामी आर्थिक बर्षमा कला संस्कृति, प्रकृति र भूगोलका आधारमा अहिले पनि अस्तित्वमा रहेका र लोप हुन लागेका खेलहरूको संरक्षण गर्ने योजना समेत बनाएको सदस्य सचिव बस्नेतले बताए ।
कोशी प्रदेश सरकारसँगको सहकार्यमा बहुवर्षीय योजनाका रुपमा मोरङको गोठगाउँमा बहुउद्देश्यीय ‘स्पोर्ट्स कम्प्लेक्स’ निर्माण सुरु गरिने योजना रहेको जनाइएको छ । त्यस्तै मेची रङ्गशाला र इटहरी तथा धरानमा फ्लड लाइट जडान कार्य अघि बढाउने बोर्डले तयारी गरेको जनाइएको छ ।
View : 269
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved