विराटनगर । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उपमेयर कार्कीले उद्यमशीलताका लागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिंदै बीउ पूँजी उपलब्ध गराउने बताइन् ।
नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदीप घिमिरेले एनवाईईएफ विराटनगर च्याप्टरले गरिरहेको कामको प्रशंसा गर्दै उद्यमशीलतामा अग्रसर बनाउने अझ राम्रा काम गर्न सुझाव दिए । उनले युवाहरुलाई उद्यमशीलतामा आउन आह्वान पनि गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले आफू प्रहरी सेवामा रहेपनि सुरुवाती दिनमा उद्यमशीलतामा अग्रसर भएको अनुभव सुनाउँदै उद्यमशील बन्नका लागि पढाईले मात्र नहुने भन्दै व्यवहारिक ज्ञानसमेत लिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा महिला उद्यमीद्वय रक्तिम जोशी प्याकुरेल र अमिना तिम्सिना बस्नेतले उद्यमशीलताको यात्रामा आफूले भोगेका देखेका अनुभव सुनाएका थिए ।
यस्तै राधाको बर्न सर्भाइवर्सकी संस्थापक एवं समाजसेवी राधालक्ष्मी श्रेष्ठले उद्यमशीलताका लागि कसरी अगाडि बढ्ने साथै सामाजिक क्षेत्रमा संलग्नताका विषयमा आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा महिला उद्यमशीलताका क्षेत्रबारे छलफल गरिएको थियो । छलफलमा श्रीहरिकुल एजुकेसन फाउन्डेसनकी प्रबन्ध निर्देशक डा. ग्रीषा रावल, ठूलो डिजिटल सोलुसनकी प्रमुख सञ्चालक सुरक्षा अधिकारी, नेपाल सरकारकी उपसचिव दुर्गा बराल र चार्टर्ड एकाउन्टेन्ट संघ नेपालकी महासचिव संजिता नेपाल सहभागी भएका थिए ।
View : 255
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved