विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि प्रतिनिधि सभामा अर्को पार्टीबाट उम्मेदवार भइसकेका व्यक्तिलाई टिकट दिएर उम्मेदवार बनाएको छ ।
२०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हाम्रो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका नवीनकुमार विश्वास खवास २०८१ मंसिर १६ गते हुन लागेको ग्रामथानको अध्यक्ष पदको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदबार बनेका हुन् ।
कात्तिक ३० को मितिमा पार्टीको अनलाइन सदस्यता प्राप्त गरेका विश्वासलाई दुई दिनमै पालिका अध्यक्षको उम्मेदवार बनाएको भन्दै रास्वपाका केही कार्यकर्ताहरूले भने असन्तुष्टि पोखेका छन् ।
ग्रामथान–६ निवासी खवासले प्रतिनिधि सभा निर्वाचनमा लौरो चुनाव चिन्ह रहेको हाम्रो नेपाल पार्टीबाट ८८५ मत प्राप्त गरेका थिए । उनै खवासलाई पार्टीमा भित्र्याएर रास्वपाले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो ।
उनलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गर्न प्रतिनिधि सभा सदस्य निशा डाँगीको नेतृत्वमा रास्वपाका नेता कार्यकर्ताहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
खवासले आइतबार मनोनयन दर्ताका क्रममा आफू योग्य र पढेलेखेको उम्मेदवार भएको दाबी गरेका छन् । उनले आफू भारतबाट सहकारी शिक्षा समेत पढेर आएको बताए । आफूले चुनाव जितेमा शिक्षा र स्वास्थ्यमा देखिएको बेथितिविरुद्ध खरो उत्रिने र युवा बेरोजगारी अन्त्य गर्ने बताए ।
View : 49
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved