धरान । कुनैबेला धरानभित्रको बेथितिबारे कडा प्रश्न र आवाज उठाउँदै आएका अहिलेका मेयर हर्क साम्पाङ आफूतिर सोझिने प्रश्नप्रति भने ज्यादै असहिष्णु बन्ने गरेका छन् । यसपटक आफ्नो आलोचनात्मक समाचार लेख्ने पत्रकारहरुप्रति उनले देखाएको रवैयाले त उनी आफूतिर कुनै प्रश्न नै नउठोस् भन्ने सोचमा रहेको प्रमाणित गरेको छ ।
उनले धरानमा मनमौजी शासन गरेको भन्दै खोजमुलक समाचार लेखेका पत्रकार गोपाल दाहाल र त्यो समाचार सेयर गर्ने पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईप्रति मेयर साम्पाङ तल्लो तहमा झरेर जाइलागेका छन् ।
पदीय मर्यादा नसुहाउँदो भाषा र शैली प्रयोग गर्दै गालीगलौचमा उत्रेका हर्कको हर्कतविरुद्ध प्रेस जगतले आपत्ति प्रकट गरेको छ ।
बुधबार यसरी फेसबुकमार्फत पत्रकारहरुलाई उनको चिया अड्डामा बोलाएका हर्कले बिहीबार पत्रकारहरुसँग आधा घन्टाभन्दा बढी समय कुराकानी गर्दा पत्रकारहरुविरुद्ध विषवमन मात्रै गरे । त्यसक्रममा उनले पत्रकारहरुप्रति आक्रोश मात्रै पोखेनन्, उनीहरुले खानै नपाएर आफूविरुद्ध लेखेको लाञ्छनासमेत लगाए ।
आफू विश्वकै लागि उदाहरण बनिरहेको दाबी गरे अनि आफूले जाने जति अपशब्दहरु प्रयोग गर्दै पत्रकारहरुविरुद्ध खनिइरहे ।
आफूले नक्कली माओवादी बनेर चन्दा उठाएको कुरा अस्वीकार गर्दै उनले मुढेबलयुक्त तर्क मात्रै अघि सारेका छन् ।
उनले आफ्नो प्रशंसा आफै गरे ‘म धरानलाई अग्रगति दिने मान्छे, सारा विश्वलाई पोजिटिभ म्यासेज दिएर काम गर्न सक्ने स्रोतका रुपमा काम गरिरहेको छ ।
मलाई आरोप लाउनेहरुको सम्पत्तिको स्रोत के हो ? खुलाउन चुनौती दिन चाहन्छु । कस्तो जग्गामा बसेको छ ? कसरी घर बनायो ? कसरी भात खाइरहेको छ ? प्रश्न गर्न चाहन्छु । ’ उनले यसो भनेर उनको समाचार लेख्ने पत्रकारलाई भनेका हुन् ।
धरानमा बेथिति बढेको भन्ने विषयमा झनै आक्रोशित सुनिए उनी । ‘म देशलाई ऋणमुक्त गर्ने व्यक्ति हो । मेरै विरुद्ध लेखेर पत्रकारले आफै पतित हुने काम गरेको छ । नदीनाला बेचिएको, असमान सन्धी सम्झौताबारे किन खोजी किन गर्दैन ? खोज पत्रकारिता किन गर्दैन ? हर्क साम्पाङले गरेको विकास देखेन तेल्ले ? फटाहा, चोर, गधा ? देख्यो कि देखेन तेल्ले ?’
उनले पत्रकारहरुलाई दिएको धम्कीको बचाउसमेत गरेका छन । उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै पत्रकारहरुको नामै तोकेर तथानाम गाली गर्दै धरानका पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की दिएका थिए ।
साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले धम्कीप्रति आत्माआलोचना गर्नुको साटो अदालत र प्रहरी प्रशासनविरुद्धसमेत अभिव्यक्ति दिए । पत्रकारहरुले खान नपाएर समचार लेखेको गम्भीर आरोपसमेत लगाएका छन् ।
अधिकांश युवट्युबरहरुको उपस्थित रहेको पत्रकार सम्मेलनमा समाचारप्रति बिश्वास नभए कानूनी प्रक्रियातर्फ नगइकन धम्की दिनु राम्रो हो त भन्ने प्रश्नमा साम्पाङले आफूलाई अदालत र प्रहरी प्रशासनप्रति बिश्वास नभएको जवाफ दिएका छन् ।
आफूले बेथीति अत्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको अवस्थामा कानूनी उपचार नखोजेको उनको गुनासो थियो । कानूनको ठेली बोक्नेहरु नै स्वतन्त्र मेयरको पक्षमा नभएको आरोप लगाउँदै उनले आफ्नो कानूनी उपचार नखोजेको बताए ।
साम्पाङले भने– ‘धरानमा श्रममा मात्र सुधार भएको छैन, आज हेर्नुस शिक्षामा सुधार भएको छ, स्वास्थ्यमा सुधार भएको छ कर्मचारीहरु डिसिप्लेन छन, एक रुपैया तलमाथि हुने बित्तिकै मैले त्यसलाई निकाल्ने गरेको छु तर उच्च अदालतले खाली ‘स्टेअर्डर’ दिनु हुँदैन अदालतलाई पनि म भन्न चाहन्छु अदालत र प्रहरीले साथ दिने हो भने दलाल फटाहरुलाई एक दिनमा तह लगाउँछु तर मलाई अदालत र प्रहरीले भनेजस्तो सहयोग गरेको छैन ।’
यही क्रममा सुनसरीका पत्रकारहरुले साम्पाङको धम्कीपूर्ण अभिब्यक्तिको बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा बिहीबार भेला भएका सञ्चारकर्मीहरुले बारम्बार धम्कीपूर्ण अभिव्यक्ति नदिन साम्पाङलाई चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ सम्वद्ध संघ संस्थाहरुका अगुवाहरुले पनि साम्पाङको धम्कीको घोर भत्र्सना र विरोध गर्दै पत्रकारप्रति पटक–पटक धम्की र गाली गर्दा लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।
केन्द्रीय समिति महासचिव रोशन पुरी, प्रदेश महासचिव विवेक गौतम, सुनसरी सचिव ध्रुव ढकाललगायतले विज्ञप्ति निकालेर साम्पाङको हर्कतको निन्दा गरेका छन् ।
View : 261
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved